खरसाङ: हरेक घरलाई पिउने पानी उपलब्ध गराउने उद्देश्य राखेर शुरु गरिएको जल जीवन मिशन अन्तर्गत हर घर जल योजनाको आज मिरिक खण्डको पानीघटामा जीटीए प्रमुख कार्यपाल अनित थापाले शिलान्यास गरेका छन्। आज शिलान्यास गरिएको योजनाले १५२८ परिवारलाई पिउने पानी नलमार्फत् घरमा उपलब्ध गराउने छ भने योजना रु ६.६९ करोडको लागतमा रहेको बताइएको छ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै समष्टिका सभासद परेश तिर्किले भने, “भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको बोली बन्दुकको गोली हो। हामीले जुन कुराको वचन दिएका थियौं त्यो पूरा गर्दैछौं।”
पीएचई विभाग खरसाङका कार्यकारी अभियन्ता मणिरत्न मंग्रातीले जानकारी दिए अनुसार हर घर जल योजना पन्थबारीमा ०.९१ करोड (१३४ घर) पानीघटामा २.७४ करोड (१२२२ घर) अनि रङ्गमोहनमा ३.०४ करोडको (१७२ घर) लागतमा सञ्चालन हुने योजनाको आबन्टन गरिएको छ। योजनाले १५२८ परिवारलाई घर घरमा पानीको नलमार्फत् पिउने पानी उपलब्ध गराउनेछ। योजनाको कुल लागत ₹ ६.६९ करोडको रहनेछ। योजनाको कार्य भोलिदेखि नै शुरु हुने उनले बताएका छन्।