गान्तोकः नयाँ दिल्लीको भ्रमणमा रहेका मुख्यमन्त्री पीएस तामाङले आज बिहिवार दिल्लीका विभिन्न अस्पतालमा उपचाराधिन सिक्किमका मानिसहरूसँग भेट गरेर उनीहरूको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका छन्।
यस भेटघाट अवधि मुख्यमन्त्रीले ५५ जना उपचाराधिन मानिसहरूलाई आर्थिक सहायता पनि प्रदान गरेको मुख्यमन्त्रीका प्रेस सचिव विकास बस्नेतले जानकारी गराएका छन्। मुख्यमन्त्री पीएस गोलेले प्रत्येकपल्ट नयाँ दिल्लीको भ्रमण अवधि समय निकालेर सिक्किमका उपचाराधिन मानिसहरूसँग भेट गर्ने गरेका बताइएको छ। आजको भेटघाटका समय मुख्यमन्त्री कार्यालयका अधिकारीहरू र नयाँ दिल्लीको डीकेके भवनमा सिक्किमका रोगीहरूको सेवामा खटिएका मेडिकल स्टाफको पनि सहभागिता रहेको थियो। मुख्यमन्त्रीले दिएको समय र सहयोगप्रति मानिसहरूले आभार व्यक्त गरेका छन्। यस अवसरमा मुख्यमन्त्रीले उपचाराधिन मानिसहरू र उनीहरूका सहयोगी सदस्यहरूलाई पुरानो सिक्किम हाउसमा दिवाभोजको आयोजना पनि गरेका थिए।