गोरूबथान: भारतीय रिजर्व ब्याङ्क, वित्तीय समावेशन अनि विकाश विभागको आयोजनामा कालेबुङमा सम्पन्न खण्ड स्तरीय अखिल भारतीय वित्तीय साक्षरता क्वीच प्रतियोगितामा जलढाका उच्चतर माध्यमिक विद्यालय प्रथम, अम्बियोक हाइ स्कुल दोस्रो अनि युद्धवीर उच्चतर माध्यमिक विद्यालय तेस्रो स्थान ओगट्न सफल भएको छ। बुधबार गर्ल्स हाइस्कूल कालेबुङमा सम्पन्न प्रतियोगितामा जिल्लाभरिका मोठ २१ वटा सरकारी विद्यालयहरूले सहभागिता जनाएका थिए। अम्बियोक हाइ स्कुलका सहशिक्षक सञ्जय शर्माले कार्यक्रममा सहभागी बनेर दिएको जानकारीअनुसार गोरूबथान खण्ड स्तरीय प्रतियोगितामा जलढाका उच्चतर माध्यमिक विद्यालयबाट आर्यन दत्त, माधव भट्टराई, अम्बियोक हाइ स्कुलबाट पाल्मु तामाङ, अन्स सरकार, त्यसरी नै युद्धवीर उच्चतर माध्यमिक विद्यालयबाट देव गिरी, खुसी थापाले सहभागिता जनाएका थिए। अर्कोतिर कालेबुङ खण्ड एकबाट क्रमैसँग टिस्टा ब्रिज उच्चतर माध्यमिक विद्यालय, समथर उच्चतर माध्यमिक विद्यालय, गर्ल्स उच्चतर माध्यमिक विद्यालय पहिलो, दोस्रो अनि तेस्रो भएको छ भने खण्ड दुइबाट सन्तजर्ज उच्चतर माध्यमिक विद्यालय, अलगडा उच्चतर माध्यमिक विद्यालय, लोले सम्फु उच्चतर माध्यमिक विद्यालय पहिलो, दोस्रो अनि तेस्रो स्थान हासिल गर्न सक्षम बनेको छ। अब कालेबुङ जिल्लाअन्तर्गत रहेका तीनवटा खण्डका प्रथम दर्जामा आउने विजयी प्रतियोगीहरूमाझ जिल्ला स्तरको निम्ति प्रतिस्पर्धा हुनेछ। त्यसमा पहिलो हुने टोलीले कलकत्तामा हुने राज्य स्तरीय प्रतियोगितामा सहभागी बन्ने अवसर प्राप्त गर्नेछ।
हिजो प्रतियोगितामा विजयी प्रतियोगीहरूलाई प्रशस्ति पत्रसितै नगद राशि पुरस्कारस्वरुप प्रदान गरियो। यस अवसरमा आयोजक पक्षबाट भारतीय रिजर्व ब्याङ्कका एजीएम अमित दास, सहप्रबन्धक देबल सरकार, लक्षणा गोले, कालेबुङ एआई (स्कुल), गर्ल्स हाइस्कूलकी प्रधानाध्यापिका आदिको विशेष उपस्थिति रहेको थियो। अम्बियोक हाइ स्कुलबाट प्रतियोगितामा अंशग्रहण गरेर विजयी बन्ने प्रतियोगीद्वय पाल्नु तामाङ (दशौँ श्रेणी), अन्स सरकार (नवौँ श्रेणी) लाई आज विद्यालयमा शिक्षक प्रभारी ललित राईको बाहुलीबाट खदा लगाएर सम्मान जनाइयो। स्मरण रहोस् यस प्रतिस्पर्धामा राज्यभरिबाट मोठ २०५३ वटा सरकारी विद्यालयहरूले सहभागिता जनाइरहेका छन्। यी प्रतियोगी विद्यालयबाट प्रत्येक जिल्लाबाट एक एकवटा विद्यालय छनौट गरिनेछ।










