देश फर्काइदेउ अनि मात्र हामीलाई विदेशी भन्न युक्तिसंगत हुन्छः केबी राई

Untitled-1-copy-185

गान्तोकः रेफरेण्डम गरेर देशलाई भारतको राज्य बनाएका सिक्किमेली नेपाली समुदायको हक, अधिकार र समानता भारत सरकारले सुनिश्चित गर्न सक्दैन भने देश फर्काइ दिनुपर्ने सिक्किम रिपब्लिकन पार्टी (एसआरपी)-का अध्यक्ष केबी राईले माग उठाएका छन्। सिक्किमका नेपाली समुदायमाथि बारम्बार लाग्ने गरेको विदेशी र इमिग्रान्टको दागका कारण नेपाली समुदाय सधैं असुरक्षित बन्नु परेको उल्लेख गर्दै सिक्किमेलाई देश फर्काइदिए मात्र भारतले सिक्किममा बस्ने नेपालीलाई विदेशी भन्न सुहाउने नत्र सिक्किमका नेपालीको आत्मा सम्मानमा सधैं ठेष पुऱ्याउने काम भारतले नगर्नु भन्ने चेताउनी दिएका छन्।

बुधवार अदमपुलमा आयोजित एसआरपीको संगठन विस्तार कार्यक्रममा बोल्दै पार्टी अध्यक्ष केबी राईले भने, “नेपाली भाषी सिक्किमेलीलाई पूरा भारतबाट तार्गेट भइरहेको छ। नेपालीहरूलाई पलायन गराउने काम हुँदैछ। यदि सिक्किमेली नेपालीलाई विदेशी भन्ने हो भने पहिला सिक्किमलाई देश बनाइ दिनु, अनि मात्रै विदेशी भन्न युक्तिसंगत हुन्छ।”

नेपालीलाई भारतबाट पलाउन गराउने सम्बन्धमा के कस्ता काम भइरहेका छन् त्यस सम्बन्धित पुख्ता दस्तावेज आफूसँग रहेको दाबी गर्दै एसआरपी अध्यक्ष केबी राईले समयमा यसको खुलासा गर्दै जाने बताए। एओएसएसले आयकर छुटका लागि सर्वोच्च न्यायालयमा गरेको मुद्दा लगायत अन्य विभिन्न अवसरमा सिक्किमका नेपाली समुदायमाथि विदेशी वा इमिग्राण्टको दाग लागाउनेहरूले सिक्किममा १६४२ भन्दा हजारौं वर्ष अघिको इतिहास बुझ्न आवश्यक छ भन्दै उनले साउदर्न स्लोप अफ् हिमालय नेपाली गोर्खाली समुदायको ओरिजिनल होमल्याण्ड रहेको र यस क्षेत्रमा बस्नेलाई कसैले पनि विदेशी भन्ने दुस्साहस नगरोस भन्ने चेताउनी गराए।

सिक्किमका नेपाली समुदायले अस्तित्व, अधिकार, पहिचान, माटोको अस्मिता र समानताबाट बञ्चित हुनुपरेको छ भन्दै केबी राईले गाँस र बासको आवश्यकता जुटाउने मात्र राजनीतिबाट माथि उठेर अस्तित्व र अस्मिता बचाउन एसआरपीमा सामेल हुनुपर्छ भन्ने आह्वान गरे। सिक्किमका राजनैतिक दलहरूले पनि जनतालाई आधारभूत सुविधामा मात्र नअल्झाएर जनताको अस्तित्व र पहिचान सुनिश्चित गराउने पहल गर्नुपर्ने बताएका छन्।

उनले भने, “सत्तामा रहने वा अन्य विपक्षी पार्टीमा जनाताले भोग्नु परिरहेको अस्तित्व संकटको पीडाबाट मुक्ति दिने कार्यक्रम छैन। यसको उपचार छ भने त्यो कोवल एसआरपीमा मात्र छ त्यसैले अब जनता हामीसित सङ्गठित हुनुपर्छ।” स्व. नर बहादुर भण्डारी बाहेक सत्तामा पुगेका अन्य सबै नेताले सिक्किम र सिक्किमेको अस्तित्व मेटाउने काम गरेका एसआरपी अध्यक्ष केबी राईले आरोप लगाएका छन्।

उनले भने, “सिक्किमेको अस्तित्व नझुकाइ काम गर्ने भण्डारी मात्र थिए। अन्य सबै नेताले सिक्किमको अस्तित्व लुटाएर, राज्यलाई बाँकी डुबाएर आफूलाई भयङ्कर साबित गर्दैछन्, तर जनताले यसको मूल्याङ्कन गर्नेछन्। सिक्किमका जनताले भोट दिएर बनाएका सरकार कहिलै पनि जनताका भएनन्। पहिलाका गोयलहरूका भए अहिले डालमिया, मित्तल र अग्रवालका कठपुतलि भएका कारण सिक्किमेको परिभाषा तरलिकरण भएको हो।”

वित्त विधेयक २०२३ र एओएसएसको मुद्दामा सर्वोच्च न्यायालयबाट आएको फसेलाले सिक्किम बहिरका मानिसहरूको लागि सिक्किम पस्ने बाटो खुल्ला गरिदिएको छ भन्दै आगामी २० वर्षको अन्तरालमा खाँटी सिक्किमेको जनसंख्या 10 प्रतिशतमा सीमित बन्ने केबी राईले दाबी गरेका छन्। सिक्किमको आर्थिक प्रगति र उन्नतिको सबै सुविधा अहिले नै राज्य बाहिरका मानिसहरूले उपभोग गरिरहेका छन् भन्दै खाँटी सिक्किमे अब पनि एकडुट नभए अस्तित्व समाप्त हुन धेरै समय नलाग्ने बताए।

सिक्किमेको हित रक्षका लागि एसआरपी मात्र जनताप्रति समर्पित पार्टी रहेको दाबी गर्दै एसआरपीको सरकार गठन भए सिक्किमका सबैको अधिकार सुनिश्चित हुने दाबी गरे। पार्टीलाई सरकाररमा पुऱ्याउन संगठन विस्तारको काम शुरु भएको र चाँडै पार्टीको केन्द्रिय समिति विस्तार गर्ने साथै प्रत्येक क्षेत्रमा पार्टीको समिति गठन गरिने जानकारी दिए। यस अवसरमा बोल्दै केबी राईले पूर्व र वर्तामान दुवै सरकारको खुलेर आलोचना गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement