गान्तोक: सिक्किम एड्स कण्ट्रोल सोसाइटीको प्रायोजनामा सिक्किम महिला पत्रकार संघले रिनाक निर्वाचन क्षेत्रमा एचआईभी/एड्समाथि एक दिवसीय सचेतन कार्यक्रम आयोजन गऱ्यो। कार्यक्रममा सिक्किम चलचित्र बोर्डकी अध्यक्ष पूजा शर्मा मुख्य अतिथिको रूपमा उपस्थित रहेकी थिइन्। रिनाक निर्वाचन क्षेत्र विधायक तथा सिक्किम महिला पत्रकार संघका प्रमुख संरक्षक विष्णुकुमार खतिवड़ाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिकोरूपमा सिक्किम राज्य उपभोक्ता सहकारी संस्थानका अध्यक्ष सन्तोष कुमार प्रधान उपस्थित थिए। कार्यक्रममा रिनाक सरकारी महाविद्यालय, रिनाक वरिष्ठ माध्यमिक विद्यालय, रत्न बहादुर गुरुङ माध्यमिक विद्यालय तारपिनका विद्यार्थीहरूमाझ कविता वाचन प्रतियोगिता, लोक नृत्य प्रतियोगितासहित रिनाक महाविद्यालयका विद्यार्थीवर्गद्वारा एचआईभी/एड्समाथि जागरूकताको सन्देश दिँदै एक नाटक पनि प्रस्तुत गरियो। आफ्नो सम्बोधनमा मुख्य अतिथि पूजा शर्माले एड्स रोगबारे आफूले जानेको कुरा साझा गर्दै यसबारे यस्ता सचेतन कार्यक्रम गर्न आवश्यक रहेको विचार पोखिन्।यसरी नै रिनाक सीएचसीका स्वास्थ्य मिशन अधिकारी आईके छेत्रीले सिक्किममा सन् १९९५ मा यो एड्स रोगको विरामी देखा परेको जानकारी गराउँदै एचआईभी/एड्सबारे विस्तृत रूपमा व्याख्या गरे। उनले यस रोगमाथि सचेत गराए। कार्यक्रममा आयोजक समितिको पक्षबाट मुख्य अतिथिलाई अभिनन्दन पनि जनाइयो।