गान्तोकः सिक्किम प्रज्ञा प्रतिष्ठानले वर्ष २०२२ र २०२३ को रश्मिप्रसाद आले पुरस्कारको घोषणा गरेको छ। प्रतिष्ठानले २०२२-को निम्ति चलचित्र निर्माता एवम् निर्देशक उगेन छोपेल डेञ्जोङपा अनि २०२३-को निम्ति सङ्गीतकार एवम् गीतकार मधुसूदन लामालाई पुरस्कृत गर्ने निर्णय लिएको छ। निर्माता एवम् निर्देशक उगेन छोपेललाई कलाको क्षेत्रमा अनि सङ्गीतकार मधुसूदन लामालाई सङ्गीतको क्षेत्रमा विशिष्ट योगदान दिएवापत् पुरस्कृत गरिने भएको हो। प्रतिष्ठानले बुधवार गान्तोकमा आयोजित एउटा पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएको छ।आगामी २८ अप्रेल, २०२३-को दिन गान्तोकको मनन केन्द्रमा आयोजन गरिने रश्मिप्रसाद आले पुरस्कार अलङ्करण समारोहमा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङको करकमलबाट यी दुई व्यक्तित्त्वलाई पुरस्कृत गरिने प्रतिष्ठानका अध्यक्ष भीम राउत र महासचिव जोसेफ लेप्चाले जानकारी दिएका छन्।
सन् २०१८-मा स्थापित सिक्किम प्रज्ञा प्रतिष्ठानले यसअघि भाषा र साहित्य क्षेत्रमा योगदान पुऱ्याउने दुई व्यक्तित्त्वलाई पुरस्कृत गरिसकेको छ। सिक्किममा भाषा, साहित्य, सङ्गीत, कला, एवम् खेलकुद जस्ता महत्त्वपूर्ण क्षेत्रमा अघि बढ्दैगरेका नयाँ प्रतिभाहरूलाई प्रोत्साहित गर्नका साथै उनीहरूमा भएको प्रतिभालाई शिखरमा पुऱ्याउन अनि यी क्षेत्रहरूको अभिवृद्धि गर्न मुख्यमन्त्री प्रेमसिंह तामाङले पुऱ्याउँदै आइरहेको सहयोग र प्रोत्साहनको सराहना गर्दै सिक्किम प्रज्ञा प्रतिष्ठानले यस समारोहमा उनलाई अभ्यर्थना जनाउने पनि निर्णय लिएको छ। समारोहमा प्रसिद्ध कलाकारहरूले नेपाली कालजयी गीतहरू पनि प्रस्तुत गर्नेछन्। प्रतिष्ठानले सम्पूर्ण सङ्गीत एवम् कलाप्रेमीलाई यस समारोहमा उपस्थित भइदिन पत्रकार सम्मेलनमार्फत निमन्त्रणा पनि गरेको छ। स्मरण गराइन्छ, रश्मिप्रसाद आले ती व्यक्ति हुन् जसले सन् १९२०-देखि सिक्किमका स्कुलहरूमा नेपाली विषय पनि पढाउनपर्छ भन्ने अभियान आरम्भ गरेका हुन्। त्यसअघिसम्म सिक्किमका स्कुलहरूमा नेपाली विषय पढाउने व्यवस्था थिएन। उनकै आग्रहमा तत्कालीन सिक्किम सरकारले नेपाली पढाउने अनुमति प्रदान गरेको हो। आलेको योगदानको मूल्याङ्कन गर्दै उनको स्मृतिमा सिक्किम सरकारले आरीथाङ जाने सडकको पनि नामाकरण गरेको छ। आले एक शिक्षक मात्र नभएर समाज सुधारक पनि थिए। उनी सन् १९४९-मा निर्वाचित भई एक्ज्युकेटीभ काउन्सिलर पनि बनेका थिए।