पेम्बा रिम्पोर्छेद्वारा खरसाङ क्षेत्रलाई पर्यटन केन्द्रको रुपमा विकास गर्न, विभिन्न पक्षमा ध्यान दिन जीटीएका प्रमुख कार्यपाल अनित थापालाई आग्रह

IMG-20230426-WA0245.jpg

खरसाङ: खरसाङको सामी लखाङ गुम्बाका धर्म गुरु पेम्बा रिम्पोर्छेले खरसाङ क्षेत्रलाई पर्यटन केन्द्रको रुपमा विकास गर्न विभिन्न पक्षमा ध्यान दिन जीटीएका प्रमुख कार्यपाल अनित थापालाई आग्रह गरेका छन्‌। रिम्पोर्छेले पत्रकारहरूसित कुरा गर्दै गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेशन (जीटीए) का प्रमुख कार्यपाल अनित थापासित खरसाङलाई पर्यटनको क्षेत्रमा विकास गर्न र खरसाङलाई सुन्दर बनाउन विभिन्न पक्षमा ध्यान दिन आग्रह गरेका हुन्‌। खरसाङको शहरी क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकहरू भित्र्याउने उद्देश्यले भर्खरै अनित थापाले खरसाङको मोटर स्ट्यान्डमा नवनिर्मित घड़ी टावरको उद्घाटन गरेको लामाले बताए। उनले भने, खरसाङलाई सुन्दर बनाउन, पर्यटन क्षेत्रमा अघि बड़ाउन यो राम्रो पहल हो, यस्ता कार्यहरूको सराहना गर्न पर्छ तर राति अबेरसम्म घड़ीको आवाजका कारण वरपरका मानिसलाई पर्न जाने असुविधाको पनि ख्याल गर्नु जरुरी छ। वर्तमानमा अधिकांश घरमा उच्च रक्तचाप र मधुमेहका बिरामीहरू रहेका छन्‌। विशेषगरी रातीको समयमा यस्ता विरामीहरू घड़ी टावरको आवाजको कारण निकै हैरान हुने भएकाले रातीको समय सातदेखि आठ घण्टा घड़ीको घण्टा बजाउने प्रक्रियालाई बन्द राख्ने विषयमा सोच्न पर्ने आवश्यक्ता देखिएको छ, रिम्पोर्छेले भने। उनले अनित थापालाई खरसाङ शहरी क्षेत्रमा ढल निकासको लाइन मर्मत गर्ने, गिद्ध पहाड़देखि रोहिणी बीचसम्म निर्माण भइरहेको रोपवेको लामो समयदेखि रोकिएको निर्माण कार्य र दार्जीलिङ पोलिटेक्निक इन्स्टिच्युट खरसाङ नजिक अधुरो अवस्थामा रहेको बहुद्देश्यीय पार्किङ स्थलको निर्माण गर्न पनि ध्यान दिनुपर्छ भनी सुझाउ दिएका छन्। उनले भने, धेरै वर्षदेखि आधुरो अवस्थामा रहेको दार्जीलिङ पोलेटेक्निक नजिक रहेको बहुद्देश्यीय पार्किङ स्थल वर्तमानमा कुलतमा लागेकाहरूलाई नशालु पदार्थ सेवन गर्ने, भिखारीहरूको निम्ति आश्रय स्थल बनेको छ। यो पार्किङ स्थलको निर्माण कार्य पुरा गरेर सञ्चालनमा ल्याएको खण्डमा खरसाङ शहरको पार्किङको समस्या निकै हदसम्म समाधान हुनेछ। धर्मगुरु पेम्बा रिम्पोर्छेले धर्मशालादेखि खरसाङ मोटर स्ट्याण्ड र बजारका विभिन्न स्थानमा रहेको ढल निकासको भूमिगत पाइपमा चुहावटका कारण ढलको फोहोर पानी सड़कमा बग्ने गरेको बताउँदै यसको कारण जनताले धेरै समस्या भोग्न परिरहेकेको पनि बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement