गान्तोकः हेभेन्ली निर्वाना पाथद्वारा गत २३ अप्रेलदेखि जोरथाङको खेल मैदानमा आयोजित मेगा आमसा हिलिङ शिविरको आज चौथो दिन मन्त्री सोनाम लामा मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए। मन्त्री लामाले खेल मैदानमा सम्पन्न भइरहेका उपचारहरूको निरीक्षण गरे अनि विभिन्न समुदायका धर्मगुहरूसँग पनि भेट गरे। मन्त्री लामा स्वयंले पनि उपचार लिए। उपचार लिएपछि पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री लामाले सिक्किमको विभिन्न समष्टिहरूमा गुरु हजुर गड एञ्जलको निर्देशनमा हेभेन्ली निर्वाना पाथले गरिरहेको हिलिङ शिविरको सराहना गरे। उनले सम्पूर्ण सिक्किमे जनताको तर्फबाट गुरु हजुरप्रति आभार व्यक्त गर्दै धन्यवाद दिए।
स्वस्थ समाजको निम्ति स्वस्थ रहनु अतिनै आवश्यक रहेको बताउँदै वर्तमान सरकारले पनि स्वास्थ्यको क्षेत्रमा धेरै कार्य गरिरहेको उनले जानकारी गराए। एसकेएम सरकारले कुनै पनि धर्मलाई नछुटाइ काम गरिरहेको उनले बताए। यसरी गुरु हजुरको सिक्किममा उपस्थितिले सिक्किम राज्य अतिनै आशिषित बनेको उनले बताए। निःशुल्क आयोजन भइरहेको यो हिलिङ शिविरमा सिक्किमेहरूले सहभागी बनेर यसको लाभ उठाउने पनि मन्त्री लामाले आह्वान गरे।
ज्ञात रहोस्, उपचार गर्न आउने रोगीले न्यूनतम ७ दिनसम्म निरन्तर रुपमा उपचार लिनुपर्नेछ। हेभेन्ली निर्वाना पाथसँग आबद्ध राज्य अनि छिमेकी देश नेपालका स्वयं सेवकहरूले निःशुल्क उपचार प्रदान प्रदान गरिरहेका छन्। यहाँ उपचार गराउन आउने रोगीहरूको निम्ति आयोजक पक्षले निशुल्क खाने अनि बस्ने व्यवस्था मिलाएको छ। यो शिविरको समापन आगामी ७ मईको दिन हुनेछ।










