गोर्खा जनपुस्ताकालयको आयोजनामा खरसाङमा शिवकुमार राईको जन्म जयन्ती समारोह सम्पन्न

IMG-20230426-WA0111.jpg

खरसाङ: भारतीय नेपाली साहित्यको मूर्धन्य साहित्यकार एंव बहुआयामी व्यक्तित्वको धनी शिवकुमार राईको जन्म जयन्ती समारोह आज गोर्खा जनपुस्ताकालय खरसाङको आयोजनामा सम्पन्न भएको छ। उक्त कार्यक्रम खरसाङको पंखाबारी रोडस्थित गोर्खा जातीय विभूति उद्यानमा पुस्तकालयको अध्यक्ष पूर्ण गुरुङ निरुपमको अध्यक्षता र वरिष्ठ साहित्यकार सुदर्शन प्रधान अम्बटेक प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा वरिष्ठ साहित्यकार जीबी बल, समाजसेवी टीटी लामा, सभासद प्रणाम रसाइली, खरसाङ नगरपालिकाको भाइस चेयरम्यान एंव जनसम्पर्क अधिकारी सुवास प्रधान, पेमेन्द्र गुरुङ आदि उपस्थित रहेका थिए। २६ अप्रेल सन् १९१९ मा जन्मेका शिवकुमार राईको मृत्यु सन् १९९५ सालमा भएको थियो।पुस्तकालयको उपाध्यक्ष प्रकाश प्रधानले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण सह सचिव रचना राई अनाकरले राखेका थिए। कार्यक्रममा अतिथिहरूका बाहुलीबाट शिवकुमार राईको सालिगमा धुप दीप प्रज्वलन गरी खदार्पणसहित श्रध्दाञ्जली अर्पण गरिएको छ। कार्यक्रममा शिवकुमार राईको जीवनी विषयमा वरिष्ठ साहित्यकार एंव पुस्तकालयको उपाध्यक्ष ऋषि राईले वार्ता प्रस्तुत गरेका थिए भने वरिष्ठ समाजसेवी एंव पुस्तकालयको पूर्व अध्यक्ष तिलक शर्माले पुस्ताकालयको क्रियाकलाप विषयमा जानकारी गराउँदै पंखाबारी रोडस्थित गोर्खा जातीय विभूति उद्यानको सुन्दरीकरण गरेर यसलाई पर्यटकीय स्थलको रूपमा राख्नु पर्ने उपस्थित जनप्रनिधिहरू समक्ष राखेका थिए। वक्तव्यको क्रममा जीटीएको ऊर्जा एंव कृषि बागवानी विभागको एमओडी सभासद प्रणाम रसाइलीले गोर्खा जातीय विभूति उद्यानको सुन्दरीकरणको लागि भोलि नै लाइट गर्ने कार्यको सर्वेक्षण गरिने र यसको लागि विभागका अधिकारीहरूलाई जानकारी गराएको बताए। उनले यस ठाउँलाई पर्यटकीय स्थलको रुपमा विकसित गरेर लाने साथै यहाँ लाइट जड़ानको कार्य चाढ़ै गरिने पनि बताएका छन्। त्यसरी नै खरसाङ नगरपालिकाको भाइस चेयरम्यान एंव जीटीएको जनसम्पर्क अधिकारी सुवास प्रधानले उद्यानको सुन्दरीकरण गर्न र यसको हेरचाह गर्न नगरपालिका कटिबध्द रहेको र आज बिहान पनि यसको सर सफाईको लागि नगरपालिकाबाट सम्पन्न भएको जानकारी गराएका छन्। कार्यक्रममा प्रमुख अतिथिक रूपमा उपस्थित वरिष्ठ साहित्यकार सुदर्शन प्रधान अम्बटेले गोर्खा जातीय विभूति उद्यानमा छाना लगाउनु पर्ने आवश्यकता रहेको र यसको लागि जनप्रनिधिहरूले ध्यान पुराई दिने र कार्य गरिदिने निवेदन गरेका छन्। उनले मूर्धन्य साहित्यकार एंव बहुआयामिक व्यक्तित्वको धनी शिवकुमार राईको विभिन्न पक्षहरू विषयमा उपस्थित विद्यार्थीहरूलाई जानकारी गराएका थिए। त्यसरी नै सभाध्यक्ष पूर्ण गुरुङ निरुपमले अध्यक्षीय सम्भाषणसितै धन्यवाद ज्ञापन पनि राखेका थिए। कार्यक्रममा खरसाङ क्षेत्रका साहित्यकारहरू, समाजसेवीहरू, विभिन्न विद्यालयका शिक्षक शिक्षिकाहरू लगायत विद्यार्थीहरू उपस्थित रहेका थिए। शिवकुमार राई जन्म जयन्ती कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै गोर्खा जनपुस्ताकालय खरसाङको सह सचिव रचना राई अनाकरले विस्तृत रुपमा जानकारी गराएका छन् ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement