मन्त्री सञ्जीत खरेलले गरे ग्रामीण प्रशासनिक केन्द्रको उदघाटन

IMG-20230425-WA0269.jpg

गान्तोक: नामथाङ निर्वाचन क्षेत्र अन्तर्गत कटेङमा निर्माण गरिएको ग्रामीण प्रशासनिक केन्द्रको उदघाटन आज क्षेत्र विधायक एवं मन्त्री सञ्जीत खरेलले गरे। उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सञ्जीत खरेलले नामथाङ निर्वाचन क्षेत्रका मानिसहरूले अहिलेसम्म ५ सय भन्दा अधिकले विभिन्न तहमा सरकारी नोकरी पाइसकेको जानकारी गराए। उनले सबै परिवारका एक एक सदस्यलाई सरकारी नौकरी प्रदान गर्ने आश्वासन दिए।

हिजो मात्र मुख्यमन्त्री विवेकाधीन अनुदानमार्फत नामथाङ समष्टिभित्रका धेरै धार्मिक संस्थानहरूले अनुदान पाएको जानकारी गराउँदै क्षेत्रका हरेक पूर्वाधार विकास गर्न राज्य सरकार तत्पर रहेको उनले स्पष्ट पारे। पूर्व सरकारमा यस प्रकारको कुनै कार्य नभएको मन्त्री खरेलले दावी गरे। चार वर्षमा जति कार्य गऱ्यो अब एक वर्षभित्र अझ गरेर देखाउने उनले जानकारी गराए। पहिला कागज मात्र आउने गरेको स्मरण गराउँदै अहिले कागज होइन सहुलियत सोझै जनताकोमा पुगेको अवगत गराए।

विपक्षीमाथि कटाक्ष प्रहार गर्दै मन्त्री खरेलले चार वर्ष कही कतै देखा नपरेकाहरू अब विस्तारै मरौं घरतिर पनि देखा परेको उल्लेख गर्दै आफूहरू भने सदैव जनताको दुःख-सुखमा साथमा रहेको उल्लेख गरे। जनताको हरेक समस्या समाधान गर्न राज्य सरकार तत्पर रहेको विश्वास व्यक्त गर्दै केवल धैर्य गरेर बस्नुपर्ने उनले अपील गरे। स्थानीयहरू साथै मुख्यमन्त्रीको आशिर्वादले गर्दा आज नामथाङको नाम उज्ज्वल पार्न सफल भएको मुख्यमन्त्री प्रति आभार प्रकट गरे। आज उद्घाटन गरिएको ग्राम प्रशासनिक केन्द्र लगभग ५७ लाख रुपियाँको लागतमा निर्माण गरिएको बताए। यो दुइतल्ले भवनमा सम्मेलन हल, तालिम कक्ष लगायत विभिन्न सुविधायुक्त रहेको जनाए। यो ग्राम प्रशासनिक केन्द्र स्थापित भएपछि अब कटेङ-फम्फोकका लगभग १२ सय जनताले सोझै सुविधा पाउने विश्वास व्यक्त गरे।यसअघि यस क्षेत्रका जनताले आफ्नो ग्राम प्रशासनिक कार्य गर्न नामथाङ बजार पुग्नुपर्ने बाध्यता थियो जसको निम्ति उनीहरूले गाड़ी भाड़ा तिरेर समय निकालेर जानुपर्ने हुन्थ्यो। तर अब भने उनीहरू घरकै खाना खाएर हिँड़ेरै ग्राम प्रशासनिक कार्यहरू, सहुलियतहरू लिन सक्नेछन्। क्षेत्रवासीको दीर्घकालीन माग हाल पूरा भएकोमा क्षेत्रवासीले खुशी व्यक्त गर्दै राज्य सरकारप्रति कृतज्ञता प्रकट गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *