हाम्रो छहारी अब कोलकतामा

IMG-20230425-WA0273.jpg

गान्तोक। पश्चिम बङ्गाल राज्यका पहाड़, तराई, डुअर्स लगायत सिक्किम, उत्तरपूर्वाञ्चल, छिमेकी नेपाल अनि अन्य स्थानबाट मानिसहरू विभिन्न कामविशेषले कलकत्ता धाइरहनु पर्दा अस्थायी रूपमा सुबिधाजनक बास बस्ने ठाउँको अभावमा भोग्नुपर्ने दीर्घ दिनको कठिनाइको समाधान गर्ने दिशामा पहल हाम्रो छहारी नामक संस्था ले सुरू गरेको छ। यसै दिशामा आगामी दसैँ अथवा दुर्गा पुजाको शुभोपलक्ष्यसम्ममा राजधानी कलकत्तामा हाम्रो छहारी आश्रमको स्थापना गरिसक्ने एकसूत्रीय कार्यक्रममा लागिपरेका समाजको सचेत तप्काका केही व्यक्तिहरूले कालेबुङ अनि कलकत्तामा आफ्नो स्तरमा काम सुरु गरिसकेका छन्।यसै दिशा मा समाजसचेत बौद्धिक जमातका व्यक्तिहरूको अगुवाइमा कलकत्तामा साङ्गठनिक रूपमा कार्य गर्न सुबिधाका निम्ति एक अस्थायी समिति गठन गरिएको छ। कलकत्तामा बसेको एउटा विमर्श कार्यक्रममा गठित अस्थायी समितिका लागि विभिन्न क्षेत्रमा कार्यरत नेपालीभाषी सामाजिक कार्यकर्ताहरू सर्वसहमतिद्वारा चुनिएका छन् जसमा सभापति श्रीमती सङ्गीता शेर्पा, उप-सभापति श्री गुञ्जदास श्रेष्ठ, मूलसचिव श्री निमा तामाङ, सह-सचिव श्री सन्तोषचन्द्र दर्नाल, कोषाध्यक्ष श्रीमती रञ्जना गुरुङ, सह-कोषाध्यक्ष श्रीमती रमा शर्मा पौडेल, कानुनी सल्लाहकार श्री सुशील ढकाल रहेका छन् भने कार्यकारी सदस्यहरूमा श्री नारायण प्रसाद होमागाञी, प्राध्यापक रफत अली, प्राध्यापक अशेष लिम्बू, श्री खड्ग गुरुङ, श्री सोनाम छिरिङ शेर्पा, श्री सञ्जीव गुरुङ, श्री अरुण राई, श्री अजय थापा, श्री विकास कार्की आदि रहेका छन्।
कलकत्ताको तालतलामा सम्पन्न यस दिनको विमर्श सभामा छहारीको परिचय अनि उद्देश्यबारे यस अभियानका पुराना सदस्य श्री सञ्जीव गुरुङले बताएपछि उपस्थित सबैले कलकत्तामा छहारी स्थापनाको महत्त्वलाई बुझेर यस महत् योजनामा सम्मिलित भई काम गर्ने प्रतिबद्धता प्रकट गरे। विमर्शमा श्री निमा तामाङ, श्री गुञ्जदास श्रेष्ठ अनि श्री सञ्जीव गुरुङले छहारीको आश्रमका निम्ति आजसम्म हेरेका घरकोठाहरूको विवरण सभामा सबिस्तार राखे। निम्न तथा मध्यमवर्गका नेपालीभाषीहरूको आर्थिक क्षमतालाई ध्यानमा राखेर भरसक स्थायी निज घर नै हुनुपर्ने विचार सभामा सबैले पोखे अनि यस दिशामा उपस्थितवर्गले आआफ्ना तर्फबाट भरपुर सहयोग गर्ने विचार व्यक्त गरे। कालेबुङनिवासी तथा जाधवपुर विश्व विद्यालयमा प्राध्यापकका रूपमा सेवारत् रफत अली अनि प्राध्यापक अशेष लिम्बूले पनि दिइएको समय सीमाभित्र घर ख‍ोज्ने जनाए। यसरी नै सभाले आगामी १५ दिनभित्र अधिकतम सुबिधायुक्त घरको टुँगो लगाउने पनि विचार पोखेको जानकारी श्री विकास कार्कीले बताएका छन्।
अर्कातिर कलकत्तामा हाम्रो छहारीको आश्रमको स्थापना गरिनुपर्ने दिशामा नियमित कार्य गरिरहेको कालेबुङको समितिले कलकत्तामा सम्पन्न सभा अनि नवगठित अस्थायी समितिप्रति स्वागत अनि शुभकामना जनाउँदै हालमा पञ्जीकरणको काम भइरहेको अनि चारैतिरबाट सकारात्मक प्रतिक्रियाहरू प्राप्त भइरहेको जनाएको छ। समितिकी सचिव श्रीमती स्वस्तिका छेत्रीले कलकत्तामा छहारी स्थापनाको सपनालाई साकार रूप दिनका लागि आगामी दिनहरूमा कालेबुङलगायत दार्जीलिङ, खरसाङ, मिरिक, सिलगड़ी, डुअर्स, सिक्किम, उत्तरपूर्व, काठमान्डौँ आदि विभिन्न स्थानमा सभा डाक्नका लागि संयोजकहरू नियुक्त गर्ने काम भइरहेको बताएकी छिन्।
उल्लेख्य, हाम्रो छहारीको अवधारणा भारतको आर्थिक राजधानी मुम्बईमा सन् २०१९ –मा सुरु भएको हो। मूलतः मुम्बईमा क्यांसर रोगोपचारका लागि पुग्ने मानिसहरूलाई अस्थायी रूपमा आश्रय दिने उद्देश्यले सुरु गरिएको छहारीको आश्रम त्यहाँका समाजसचेत व्यक्तिहरूको सक्रियतामा सुचारु रूपले सञ्चालन भइरहेको छ भने सिलगड़ीको सैनिकपुरी, खप्रेलमा पनि त्यहाँका जाँगरिला व्यक्तिहरूको देखरेखमा हाम्रो छहारीको आश्रमले गत २०२१ देखि सेवा पुऱ्य़ाउँदै आइरहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *