गान्तोकः सिक्किम भ्रमणमा रहेका केन्द्रिय गृह राज्य मन्त्री अजय कुमार मिश्राले आज राजधानीको टाशीलिङ सचिवालयमा विभिन्न केन्द्र प्रायोजित योजनाहरूको स्थिति बुझ्न विभिन्न विभागीय प्रमुखहरूसॅंग बैठक गरे।
बैठकमा ग्रामीण विकास विभागका सचिव डी. आनन्दन, आईजीपी डीबी गिरी, स्वास्थ्य विभागका प्रधान निदेशक डा. अनुशा लामा, खेल विभागका प्रधान निदेशक सुचित्र थापा, समग्र शिक्षाका कार्यक्रम अधिकारी डीवी बस्नेत तथा अन्यहरूले विभागीय योजनाहरू र यसका वर्तमान स्थितिमाथि जानकारी गराए।
केन्द्रिय मन्त्री मिश्राले विभागका कार्यहरूको सराहना गरे। उनले राज्यमा ऑंगनवाडी कार्यकर्ता र स्वास्थ्य कर्मीहरूको कार्यको पनि सराहना गरे। उनले ग्रामीण क्षेत्रहरूमा स्वास्थ्य क्षेत्रमा युद्धस्तरमा काम गर्न आह्वान गरे।
उनले महिला र बाल-बालिकाहरूको सुरक्षासित सम्बन्धित विषयहरूलाई सम्बोधित गर्न केन्द्र सरकारले पूर्ण समर्थन गर्ने आश्वासन दिए। उनले आगामी दिनहरूमा सकारात्मक परिणामको आशा व्यक्त गरे।









