सुडानमा युद्धविराम, करिब ४०० जनाको मृत्यु

00-1-Sudan-Rep-image-1

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले सुडानमा सेना र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स युद्धविराम गर्न सहमत भएको बताएका छन्। सोमबार मध्यरातबाट युद्धविराम गर्न दुवै पक्ष सहमत भएका छन्। दुवै पक्षले आआफ्ना तर्फबाट युद्धविरामको घोषणा गरेका छन्। सेना र र्‍यापिड फोर्सबीच ४८ घण्टाको वार्तापछि युद्धविराममा सहमति भएको ब्लिन्केनले बताए। सुडानमा यी दुईबीचको द्वन्द्वमा हालसम्म ४०० जनाको मृत्यु भइसकेको छ। गत १५ अप्रेलमा दुवैबीच झडप शुरु भएपछि सशस्त्र द्वन्द्वमा परिणत भएको थियो।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले सुडानमा हिंसा बढेमा यो आगोले सम्पूर्ण क्षेत्रलाई आफ्नो चपेटामा लिने चेतावनी दिएका छन्। यसको ज्वाला बाहिर पनि फैलिनेछ। द्वन्द्व शुरु हुनेबित्तिकै राजधानी खार्तुमबाट युद्ध प्रभावित क्षेत्रमा मानिसहरूलाई घरभित्रै बस्न भनिएको थियो। त्यहाँ अहिले खाद्यान्न र पानीको आपूर्ति ह्वात्तै घटेको छ। युद्धविरामको घोषणापछि स्थितिमा केही सुधार आउने अपेक्षा गरिएको छ। युद्धका क्रममा खानेपानीको पाइपलगायत महत्वपूर्ण पूर्वाधारमा ठूलो क्षति पुगेको छ। खानेपानीको पाइप बिग्रिएपछि जनता नाइल नदीको पानी सिधै पिउन बाध्य छन्। युद्धविरामको घोषणापछि यहाँबाट सकुशल निस्किने आशा जनतामा छ। यसअघि धेरै देशले आफ्ना कूटनीतिज्ञ र अन्य कर्मचारीलाई त्यहाँबाट निकालेका थिए।

About Author

Advertisement