उत्तर दिनाजपुर: कालियागञ्ज केही दिनयता एक किशोरीको बलात्कारपछि भएको हत्याकाण्डका कारण चर्चामा छ। उक्त घटनाको विरोधमा मंगलबार स्थानीय बासिन्दाहरूको एक समूह कालियागञ्ज पुलिस थाना पुगेको थियो। जसका कारण दिउँसोदेखि नै पुलिस थाना छेउछाउका इलाका तनावग्रस्त बन्यो। थाना अगाडि प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरूलाई पुलिसले लाठी प्रहार गरे। स्थिति नियन्त्रणमा लिन पुलिसले अश्रुग्यास पनि प्रहार गर्यो। त्यसको प्रति उत्तरमा प्रदर्शनकारीहरूले पुलिसमाथि इँटा र ढुंगा प्रहार गरे। आक्रोशित प्रदर्शनकारीहरूले पुलिस चौकीमा आगजनी गरे। हेर्दा-हेर्दै एकै छिनमा पूरै इलाका आगोको चपेटामा आयो। थाना अगाडि पार्किङ गरेका धेरै सवारी साधनहरूमा समेत आगजनी गरिएको छ।
								



								

															
                    



