कालचिनीः सोमबार राती प्रायः ९ बजी हेमिल्टनगञ्ज फरवार्डनगर क्षेत्रको बाटोमा आफ्नै साथीसित वार्तालाप चलिरहेको समय कालचिनी ट्रली लाईन निवासी एकजना युवक राजीब केरकेट्टामाथि हेमिल्टनगञ्ज डिपोपाड़ा क्षेत्र निवासी एकजना युवक विशाल महलीले बन्दुक ताकेर फायर गर्दा भाग्यले राजीब केरकेट्टा बाँच्न सफल भएको थियो। उक्त घटनापछि फायर गर्ने युवक विशाल महली टाप कसेको थियो भने उपरोक्त घटना सम्बन्धमा राजीब केरकेट्टाले कालचिनी थानामा विशाल महली विरुद्ध अभियोग दर्ता गरेका छन्।
पीड़ित राजीब केरकेट्टाले पुलिस समक्ष विशाल महलीबाट तिनलाई भय रहेको र फेरि मौका छोपेर विशाल महलीले हत्या गर्न मौका हेरीरहेको हुनसक्ने आशङ्का व्यक्त गरेका छन्। यता कालचिनी थानाको पुलिसबलले अभियोगको आधारमा आरोपी विशाल महलीको खोजी शुरु गरेको बताईएको छ भने सो घटनाले हेमिल्टनगञ्ज र ट्रली लाईन क्षेत्रमा सनसनी मच्चिएको छ।











