मिरिक: भाजपाका राष्ट्रीय उपाध्यक्ष दिलिप घोषले हालै दिएको गोर्खाल्यान्ड विरोधी वयानको विरोध गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा मिरिक महकुमा तथा युवा शक्तिले विरोध जनाएका छन्। आज मंगलबार मिरिक बजार अनि कृष्णनगर परिसरमा व्यापक पोस्टरिङ गरेर यसको विरोध जनाएको छ। भित्तामा टाभसेको पोस्टरमा “दिलिप घोषको वयान भाजपाको आधिकारिक वयान हो, होइन भने विरोध गरेर देखाउ!” जस्ता स्लोगन दिएर यहाँको भाजपा पक्षका नेताहरुलाई चुनौती समेत दिएको छ। भागोप्रमो केन्द्रीय सदस्य समीर राईको नेतृत्वमा रहेको टोलीले पोस्टरिङ गरेपछि मिडियासित कुराकानी गर्ने क्रममा युवा नेता राकेश शर्माले दिलिप घोषले संविधान बिरुद्ध वयान दिएको बताए। घोषको वयान गोर्खाल्यान्डको अदेखा हो भन्दै शर्माले गोर्खाको भावनालाई यसरी बराम्बार कुल्चिने काम भाजपाले गरिरहेको बताए। २०१९ मा जनतालाई गोर्खाल्याण्डको नाममा ढाँटेर भोट माग्नेहरुले हाम्रो मांग अदेखा गरिरहेको छ। तिनले उडिसा राज्यको गठनको इतिहासलाई उदाहरण दिँदै गोर्खा जातिले अब भावनामा बग्नु नहुने सुझाउ समेत राखे।

घोषको वयानले भाजपाको चरित्र उदाङ्गो भएको तर पनि संविधानभन्दा ठुलो कोही नहुने दोहोराए। तिनले सांसद राजु बिष्टले हालै दिएको गोप्य काम चलिरहेको वयानको ठाडो बिरोध गर्दै बिष्टले यस्तो गोप्य काम भनेको चार वर्ष बितिसकेको र यो गोप्य भन्नाले कतै सिक्किमसित बिलयतिर त ईसारा गरिरहेको छैन? भन्दै तिनले प्रश्न गरे। गणतन्त्रमा जनता नै राजा हो र जनतालाई गोप्य कुराको खुलासा चाँडै गरिनु पर्ने तिनले मांग गरे। यस अवसरमा मिरिकका जनसम्पर्क अधिकारी विवेक गोले, २३ नम्बर समष्टिका युवा शक्ति अध्यक्ष कृष्णवीर प्रधान, २४ नम्बर समष्टि प्रवक्ता दिमुक तामाङ, २४ नम्बर समष्टि युवा शक्ति अध्यक्ष प्रसन राई, सदस्य सन्तोष प्रधान, राहुल निरौला आदि उपस्थित थिए।











