सिलगढी: भारतमा जग्गा किन्न खोज्दा एक बंगलादेशी नागरिक पक्राउ परेका छन्। यो घटना सिलगढी महानगरीय पुलिसको आशिघर चौकी अन्तर्गतमा भएको हो। आशिघर चौकी पुलिसले रजिस्ट्री कार्यालय बाहिरबाट एक बंगलादेशीलाई पक्राउ गरेको छ। जानकारी अनुसार,एक बंगलादेशी नागरिक अवैध रुपमा भारतमा जग्गा किन्न आएको खबर गोप्य स्रोतबाट पुलिसलाई प्राप्त भयो। सिलगढीको आशिघर रजिस्ट्री अफिसमा एक बंगलादेशीले जग्गा दर्ता गराउने जानकारी पनि पुलिसले पाएको थियो। सोही सूचना अनुसार पुलिसले रजिस्ट्री कार्यालय बाहिर जाल बिछाएको थियो। ती बंगलादेशी नागरिक त्यहाँ पुग्नसाथ पुलिसले ती व्यक्तिलाई पक्राउ गऱ्यो। ती बंगलादेशी नागरिकको नाम दिलिप सूत्रधर हो, जसको उमेर ४९ वर्ष छ। उनको घर बंगलादेशको सिराजगञ्ज जिल्लाको हरिरामपुर क्षेत्रमा छ। बंगलादेशी नागरिकको साथबाट नक्कली भारतीय आधार कार्ड, मतदाता परिचय-पत्र र बंगलादेशी पासपोर्ट बरामद भएको छ। पुलिसले ती सबै दस्तावेजहरु आफ्नो नियन्त्रणमा लिएको छ। केही दिन अघि पनि पुलिसले एक बंगलादेशीलाई पक्राउ गरेको थियो। यसरी एकपछि अर्को गर्दै बंगलादेशीहरू भारत प्रवेश गरी नक्कली कागजपत्र बनाएर जग्गा किन्ने क्रम जारी छ। यी व्यक्तिको नक्कली कागजात कहाँबाट बनाइयो र यो काममा कसले सघायो भन्नेबारे पुलिसले विस्तृत अनुसन्धान गरिरहेको छ।










