पाकिस्तान विरुद्ध टी२० सीरीज २-२-ले ड्र गर्न सफल न्यूजील्याण्ड

IMG-20230425-WA0105.jpg

२५ अप्रेलः न्यूजील्याण्डले चरम रोमाञ्चक पाँचौं टी२० इण्टरनेशनल क्रिकेट म्याचमा पाकिस्तानलाई ६ विकेटले पराजित गऱ्यो। यस जीतको साथै न्यूजील्याण्डले ५ वटा टी२० म्याचको सीरीज पनि २-२-ले ड्र गऱ्यो। सीरीजको पहिलो दुवै म्याच हारेपछि न्यूजील्याण्डले तेस्रो म्याच जितेको थियो। त्यसपछि चौथो म्याच वर्षाले गर्दा रद्द भएको थियो। पाँचौं तथा अन्तिम टी२० म्याचमा पनि न्यूजील्याण्ड एक समय हारको संघारमा पुगिसकेको थियो तर टीमले असाधारण लड़ाइँ गरेर रोमाञ्चक जीत हासिल गऱ्यो। रावलपिण्डी क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिंग गर्दै पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १९३ रन बनायो। जवाफमा न्यूजील्याण्डले एक समय त ७३ रनमै ४ विकेट गुमाएको थियो। यस्तो जटिल स्थितिमा मार्क चापम्यानको असाधारण ब्याटिंगले टीमलाई यादगार जीत दिलायो। चापम्यानले ११ वटा चौका र ४ वटा छक्काको साथ ५७ बलमा अविजित १०४ रन बनाए। उनले पाँचौं विकेटको निम्ति जेम्स नीशमसँग मिलेर पाँचौं विकेटको निम्ति १२१ रनको अटूट पार्टनरशीप गरी न्यूजील्याण्डलाई जीत दिलाए। यसरी कीवि टीमले ४ बल बाँकी रहँदै ४ विकेट गुमाएर १९४ रनको लक्ष्यलाई हासिल गऱ्यो। नीशमले ४ वटा चौका र २ वटा छक्काको साथ २५ बलमा अविजित ४५ रन बनाए। यी दुईबाहेक चाड बोवेसले १९ र डेरल मिचेलले १५ रन बनाए। पाकिस्तानका बलरहरूमा शाहिन शाह अफरीदी र इमाद वासिमले २-२ विकेट हासिल गरे। यसअघि पाकिस्तानको ईनिंग्समा विकेटकीपर मोहम्मद रिजवानको ब्याटिंग मुख्य आकर्षण रह्यो। केवल २ रनले गर्दा शतकदेखि वञ्चित हुने ओपनर रिजवानले ४ वटा छक्का र ७ वटा चौकाको साथ ६२ बलमा ९८ रन बनाए। मध्यक्रममा लगातार विकेटको पतन भए पनि रिजवानले असाधारण ब्याटिंग गरे। यसबाहेक इफ्तखार अहमदले ३६ र इमाद वासिमले ३१ रनको योगदान दिए। चापम्यानलाई प्लेयर अव् द म्याच र सीरीज चयन गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement