गान्तोक: हेभेन्ली निर्भाना पाथको पहलमा हिजोदेखि दक्षिण जिल्लाको जोरथाङ खेल मैदानमा १५ दिवसीय आमसा मेगा हिलिङ शिविर शुरू भएको छ। दोस्रो दिनको कार्यक्रममा बङ निर्वाचन क्षेत्रका विधायक डीटी भोटिया मुख्य अतिथिको रुपमा उपस्थित थिए ।यसरी आत्मा, मन अनि शरीरको रोगले ग्रसित राज्यवासीलाई निःशुल्क उपचार गर्नहेतु यो शिविर आयोजन गरेकोमा विधायक डीटी भोटियाले हेभेन्ली निर्भाना पाथ अनि गुरुहजुरप्रति आभार व्यक्त गर्दै धन्यवाद दिए। उनले कतिपय उपचाराधीन रोगीहरूसँग पनि भेट गर्ने क्रममा अन्तरक्रिया गरे। अन्तरक्रिया अवधि कतिपय रोगीहरूलाई यो उपचार पद्दतिले तत्काल असर गरेको पनि उनलाई उपचाराधीन रोगीहरूले अवगत गराए ।स्मरण रहोस्, यो मेगा हिलिङ शिविर राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङको प्रमुख संरक्षणमा अनि गुरुहजूर गढएञ्जलको दिशानिर्देशनमा सम्पन्न भएको हो । यस अघि पनि हेभेन्ली निर्भाना पाथले राज्यका विभिन्न ठाउँमा हिलिङ शिविर आयोजना गरिसकेको छ। यसपल्ट भने सबैभन्दा लामो १५ दिने शिविरको आयोजना गरिएको हो, जसमा राज्य अनि राज्य बाहिरका रोगीहरूले उपचार लिइरहेका छन्। उपचार पद्दथि वैज्ञानिक पक्रिया अनुसार हुने पनि आयोजक पक्षले जानकारी गराएको छ। उपचार गर्न आउने रोगीले न्युनतम ७ दिनसम्म निरन्तर रुपमा उपचार लिनुपर्नेछ। हेभेन्ली निर्भाना पाथसँग आबद्ध राज्य अनि छिमेकी देश नेपालका स्वयं सेवकहरूले निःशुल्क उपचार प्रदान प्रदान गरिरहेका छन्। यहाँ उपचार गराउन आउने रोगीहरूको निम्ति आयोजक पक्षले निःशुल्क खाने अनि बस्नेको प्रबन्ध गरेको छ।