गान्तोकः राजधानीस्थित मनन केन्द्रमा आज “विकास अनि समृद्धितर्फ परिवर्तन” कार्यक्रम आयोजना गरियो। यस कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङले विभिन्न योजनाअन्तर्गत लाभार्थीहरूलाई चेक प्रदान गरे।
विशेष गरेर मुख्यमन्त्री छात्रवृत्ति, उद्यमी अनुदान, गैर-सरकारी संगठनहरूलाई अनुदान, चिकित्सा अनुदान, कम्प्यूटर र ल्यापटप, आवण्टित कार्यहरूको आदेश पत्रहरू गरेर मोठ ४१६ लाभार्थीहरुलाई आजको कार्यक्रममा चेक वितरण गरियो। कार्यक्रममा मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ, मुख्यमन्त्रीका सचिव एसडी ढकाल लगायत अन्य नेतृत्वहरूको बाहुलीबाट लाभार्थीहरूलाई चेक वितरण गरिएको थियो। मुख्यमन्त्री विवेकाधीन अनुदान, मुख्यमन्त्री राहत कोष र मुख्यमन्त्री स्वास्थ्य सहायता योजना अन्तर्गत अहिलेसम्म धेरै लाभान्वित बनिसकेको उनले आफ्नो सम्बोधनमा बताए। यी सबै सहयोग राज्य सरकारले लाभार्थीहरूलाई चेकमार्फत प्रदान गरेको उल्लेख गर्दै यो कार्य खुबै पारदर्शी ढङ्गमा गरिएको उनले दावी गरे। यसबारे कसैले पनि आरटीआई गरेर बुझ्न सक्ने अनि यसको विस्तृत विवरण सरकारसमक्ष रहेको मुख्यमन्त्री तामाङले स्पष्ट पारे।

मुख्यमन्त्री तामाङले आफ्नो संक्षिप्त सम्बोधनमा मुख्यमन्त्री कोष ठूलो मान्छेकोमा होइन विभिन्न योजनामार्फत गरीब जनताकोमा पुग्नुपर्छ भन्ने आफ्नो सोंच रहेको विचार व्यक्त गरे। तर हाल कतिपयले यसरी चेक वितरण गर्नु हुँदैन भन्ने गरेको उल्लेख गर्दै यसरी चेक वितरण हुँदैन भन्नेहरूलाई उनले शोषकको संज्ञा दिए। गरीबका नानीहरू डाक्टर, पायलट भएको उनीहरूले मन नपराउने अनि आफ्नो नानीहरू जस्तै बराबरी नहोस् भन्न चाहनेहरूले यस्तो भनिरहेको मुख्यमन्त्रीले बताएका छन्। गरीब हेपिनु हुँदैन् र गरीब माथि उठ्नुपर्छ भन्ने आफ्नो संकल्प रहेको मुख्यमन्त्रीले स्पष्ट पारे। आफू बिकेर भएपनि गरीबका नानीहरूलाई पढ़ाउने मुख्यमन्त्रीले कटिबद्धता व्यक्त गरे। गरीबीका कारण नानीहरूले स्कूल छोड़्न नपरोस् भन्ने आफ्नो सोच रहेको उनले मन्तव्य पोखे। पढ़्छु, केही गर्छु भन्नेहरूको निम्ति सहयोग गर्न राज्य सरकार सदैव तत्पर रहेको उनले जानकारी गराए।