सिटिजन एक्सन पार्टीमाथि विश्वाश राख्नोस्, हामीबाट धोखा हुनेछैनः गणेश राई

Untitled-1-copy-160

गेजिङः राष्ट्रिय पञ्चायती राज दिवसको अवसरमा गेजिङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सिटिजन एक्सन पार्टीका मुख्य समन्वयक गणेश कुमार राईले पार्टी कार्यकर्तालाई कुनै पनि परिस्थितिमा नडगमगाइ अघि बढ्न आग्रह गरेका छन्। सिक्किम आमा लुटिएको अवस्थामा छ र यसलाई सिटिजन एक्सन पार्टीले बचाउनु पर्नेछ भन्दै उनले नयाँ आस्थाका साथमा पार्टीमा सामेल भएका मानिसहरूलाई लिएर सुधारको राजनीति अघि बढाउने बताए। पार्टीमाथि विश्वास राखेर सामेल हुनेहरूलाई विश्वाघात हुने छैन भन्ने पनि उनले वचन दिएका छन्। सिक्किमका सबै पञ्चायतलाई राष्ट्रिय पञ्चायती राजको शुभकामना व्यक्त गर्दै आफ्नो पार्टी सरकारमा पुगे सिक्किमको पञ्चायती राजलाई सशक्त बनाउने उनले दाबी गरे। पञ्चायतलाई सशक्त गराउने वचनका साथ सरकारमा पुगेको एसकेएमले पञ्चायतको सबै अधिकार खोसेको, चार वर्षमा एकपल्ट मात्र पञ्चायत अधिवेशन भएको, पञ्चायत सशक्तिकरणका लागि कुनै काम नभएको बताउँदै पञ्चायती राज दिवस मनाउन नसकेकोमा सरकारको आलोचना गरे।

उनले भने, “पञ्चायती राज दिवसको दिन कार्यक्रम गर्न नसकेर चेक वितरणको कार्यक्रम गर्नु घातक हो, यस दिवसमा पञ्चायतको अधिकारबारे चर्चा नहुनु दुःखपूर्ण विषय हो। अहिले सबै अधिकार मिन्तोकगाङमा एकत्रित भएको छ, मान्छेको स्वतन्त्रता र अधिकार खोसिएको छ। सिटिजन सिटिजन एक्सन पार्टी सरकारमा पुगेको खण्डमा स्थानीय स्वशासनलाई मजदूत गराउने व्यवस्था निर्माण गर्नेछ।” एउटा नयाँ इतिहास बनाउने अभियानमा पार्टीले काम गरिरहेको छ भन्दै गणेश राईले राज्यका सबै पञ्चायतलाई यसमा संलग्न हुन आग्रह गरे। सरकार स्थापनापछि पञ्चायती राजलाई सबैभन्दा सशक्त बनाउने र पञ्चायत सभापतिलाई उप मन्त्रीको दर्जा दिएर स्थानीय स्वशासनलाई दह्रिलो बनाउने बनाउने उनले बताएका छन्। सिटिजन एक्सन पार्टीले एक व्यक्तिलाई राजनीतिमा हिरो बनाउने प्रथालाई अन्त गर्ने पनि प्रतिवद्धता व्यक्त गरेका छन्।

गणेश राईले भने, “सिक्किममा प्रजातन्त्र छैन, केही मानिसले असिमित सम्पति कमाएका छन्, तर ९० प्रतिशत मानिसले अभावको जिन्दगी जिउनु परिरहेको छ। राज्य बाँकीमा डुबेर गएको छ। यौ डावाँडोल व्यवस्थाबाट सिटिजन एक्सन पार्टीले सिक्किमलाई बचाउने र प्रजातन्त्रलाई पुनर्बहाली गर्नेछ।” एओएसएसको आयकर छुट मामिला सम्बन्धमा पार्टीको अडान स्पष्ट गर्दै गणेश राईले भने, “हामी गैर सिक्किमेको विरुद्धमा होइन, तर आफ्नो अधिकार सुरक्षा गर्ने पक्षमा छौ। पुराना कानूनलाई बचाउने कुरामा हामी सम्झौता गर्दैनौ। दुईवटा पार्टीले हाम्रो अधिकार मास्ने काम गरे अनि एका-अर्कालाई दोष लगाउने होजबाजी चलिरहेको छ। हामी सिक्किमको पूर्ण सुरक्षा गरेर पुराना बासिन्दालाई सर्वभारतीय अधिकार दिलाउन प्रतिवद्ध छौं। लिम्बू तामाङको सीट पनि दुईवटा पार्टीको मिलिभगतमा समाधान नभएको हो। एओएसएसलाई आयकर छुट सम्बन्धमा पनि सरकारको नीति स्पष्ट छैन। यस सम्बन्धमा सरकारले विधानसभामा पारित गरेको प्रस्ताव र मुख्यमन्त्रीको भाषणले सरकारको दोहोरो चरित्र देखाएको छ।” अर्कोतर्फ एओएसएसको आयकर छुट मुद्दामा भएको फसेलामा सिक्किमका नेपालीमाथि लागेको विदेशी ट्याग सम्बन्धमा सिक्किम सरकारको रिभ्यू पिटिसन सुनवाई नभएको ठोकुवा गर्दै भरत बस्नेत र आरबी सुब्बाको कारण यो मुद्दा सुनवाई भएको गणेश राईले दाबी गरे। यता सरकारको मजदूर नीतिको पनि उनले खुलेर आलोचना गरेका छन्। सिक्किमका मजदूरको स्थिति खराब हुनुमा पवन चामलिङ र पीएस गोले दुवै मुख्यमन्त्री जिम्मेवार रहेको उनले आरोप लगाए। २०२४ मा सिटिजन एक्सन पार्टीको सरकार बनिने दाबी गर्दै गणेश राईले पार्टी कार्यकर्तालाई मजबूत भएर अघि बढ्न आग्रह गरे। उनले भने, “हाम्रो लागि माहोल राम्रो छ। मानिसहरूले सरकार बनाउने मन बनाइसकेका छन्। तपाईंहरूले विश्वास राख्नोस हामीबाट धोखा हुने छैन। हामी सिक्किम आमाको आँशु पुछ्न आएका हौं र पाँच वर्षमा अवस्था बद्लाएर देखाउने छौं।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement