नक्सलबारी: वाहन र बाइकको दुर्घटनामा परेर एकजना युवकको मृत्यु भएको घटना आज दिउँसो नक्सलबारीको लालपुल इलाकामा घटेको हो। मृतक युवक नक्सलबारीको अलडाङ्गी निवासी २४ वर्षीय नीतेन शर्माको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार आज एउटा यात्री बोकेको वाहन नक्सलबारीबाट पानीघट्टातर्फ गइरहेको समय लालपुल इलाकामा विपरीत दिशाबाट आइरहेको एउटा बाइकसित ठोक्किँदा बाइकमा सवार युवकको मृत्यु भएको बताइएको छ। घटनापछि शव उद्धार गरेर नक्सलबारी ग्रामीण अस्पतालमा लगियो। नक्सलबारी पुलिसले बाइक र वाहन आफ्नो नियन्त्रणमा लिएर घटनाको जाँच शुरू गरेको छ।