बिहार: गत शनिबार बिहार बौद्ध गयामा यहाँको महाबोधी स्थल परिसर मेडिटेसन सेन्टर बाईबास भवनमा अल इण्डिया बुद्धिष्ट फोरमको आयोजनामा राष्ट्रिय बौद्ध संगोष्ठि सम्पन्न भयो। उक्त सुजाता मेडिटेसन सेन्टरका कन्भेनर भान्ते चन्द्रमुनिको सभापतित्वमा सम्पन्न भएको सभामा विविध बिषयहरुमाथि गहन छलफल गरियो। सर्वप्राणी कल्याण हेतु भान्ते ज्यूको अगुवाईमा बुद्ध बन्दना, मङ्गलाचरण सँगै सभा आरम्भ गरिएको थियो।
मानव जीवनमा पञ्चशीलको महत्व माथि प्रकाश पार्दै संसारमा भगवान बुद्धले देखाएका भाईचारा, भातृत्व, मैत्री, करूणाद्वारा नै शान्ति कायम हुने बताए। सभाको क्रममा भारतका विभिन्न प्रान्तहरुबाट आएको प्रतिनिधिवर्ग बीच परिचय गराएपछि अल इण्डिया बुद्धिष्ट फोरमका महासचिव आकाश लामाले राष्ट्रिय स्तरमा फोरमले सभा डाक्नुको आौचित्य माथि प्रकाश पार्दै जसरी बङ्गालमा फोरमकै पहलमा बौद्धहरूलाई संघबद्ध गराई बुद्ध पूर्णिमाको सरकारी छुट्टि हासिल गर्न सफल भएको थियोl त्यसरी नै बौद्ध एकताद्वारा नै राष्ट्रिय स्तरमा बौद्ध हितमा काम गर्दै जाने उनले बताए।
मुख्यतः बोधी टेम्पल म्यानेजमेन्ट कमिटी (बीटीएमसी) लाई पूर्णरूपमा बौद्धहरुकै हातमा सुम्पनु पर्ने दिर्घकालिन मागलाई अझ सशक्त बनाउँदै लानुपर्ने विषयमा गहन छलफल गरियो। यसै विषयमा ‘बुद्धिष्ट पर्सनल ल’लाई कानुनी दर्जा हासिल गराएपछि आफै आफ यो मांग पूरा हुने बताउँदै सरकार समक्ष यो माग बुलन्द रुपमा उठाउनुपर्ने बताए।
उक्त मन्तव्य ‘बुद्धिष्ट पर्सनल ल’ स्ट्यान्डिङ कमिटी एडभाईजर राजेन बौद्धजीद्वारा राखियो साथै आजको सभाले सुजाता स्थल जहाँ भगवान बुद्धलाई सुजाताद्वारा “खीर” अर्पण गरेको थियो उक्त स्थलमा पनि बौद्ध धर्म गुरु नभई हिन्दुद्वारा नै पूजा पाठ गरिने प्रथा सँग सँगै उक्त स्थलमा एकजना बौद्ध लामा वा भान्ते नियुक्ति गरिने साथै उक्त लामा, भान्तेलाई बुद्धिष्ट फोरमद्वारा मासिक पाँच हजार पारिश्रमिक भत्ता प्रदान गरिने निर्णय लिइयो।
के.के. बौद्धद्वारा बीटीएमसी विषय आफ्नो वक्तव्य राख्दै यदि देशका विभिन्न प्रान्तहरुबाट एकवद्ध रुपमा बौद्धहरू अघि आएको खण्डमा उक्त कमिटी बौद्धहरूको हातमा आउन धेर समय नलाग्ने बताउँदै सबै एकजुट हुनपर्ने आह्वान गरे।सभामा बिहार राज्यमा पनि अल इण्डिया बुद्धिष्ट फोरम ब्रान्च कमिटी गठन गरियो। सभामा आयुर्वेद संस्था गान्तोकका डा० सूर्यप्रकाश आयुर्वेद वैज्ञानिकले आफ्नो सुझाव राख्दै देशको विभिन्न प्रान्तमा बौद्ध बिहार निर्माण गर्दै बौद्ध शिक्षाको प्रचारप्रसार गर्नपर्ने बताए।
राजेन बौद्धले पनि कानुनी तौरमा सञ्चालन कमिटी बौद्धहरूकै अधिनमा हुनुपर्ने बताए। अन्तमा फोरमद्वारा आउँदो केहि दिनमा बिहारका मुख्य मन्त्री नितिश कुमार समक्ष एक ज्ञापन पत्र चडाइने निर्णय लिएको छ। एवं रितले देशका प्रधानमन्त्री, गृहमन्त्री समक्ष सबै लामा-भान्ते संघ, बौद्ध संघ संस्थाद्वारा सामुहिक पत्राचार गरिदिने फोरमले अपिल गरेको छ।सभालाई फोरम ब्राञ्च कमिटी कालेबुङ अध्यक्ष लोबसाङ लामाले सुप्रिम कोर्टमा बीटीएमसीबारे अगावै मामला दायर गरेको बारे बताए।
यसै बिषयलाई अझ बुलन्द बनाउँदै आउँदो २६ अप्रेलमा दार्जीलिङ चौरस्ता परिसरमा बौद्ध शान्ति र्याली आयोजन गरिने फोरमका महासचिव आकाश लामाले बताएl सभामा देशका विभिन्न प्रान्तहरु जस्तै दिल्ली, लखनऊ, बिहार, महाराष्ट्र, पश्चिम बङ्गालको दार्जीलिङ, डुवर्स, सिलगडी, कालेबुङ, सिक्किम, उत्तर प्रदेश आदि ठाँउहरुबाट बौद्ध प्रतिनिधि भेला भएको जानकारी फोरम प्रचारप्रसार सचिव सुरेन पाखरिनले प्रेस विज्ञप्तिमा बताएका छन्। २६ नोभेम्बरमा संविधान दिवसको उपलक्ष्यमा बुद्ध गया बिहारमा देशका विभित्र बौद्ध संघ-संगठन, बौद्ध लामा गूरुजन्, भान्ते साथै बौद्ध विद्वान् लगायत साधारण बौद्ध हरुलाई लिएर शान्ति र्याली संगै संगोष्ठि आयोजन गरिने निर्णय फोरमले हिजको सभामा लिएको छ।