गान्तोक: भारतीय जनता पार्टी, सिक्किमको सोरेङ जिल्ला कार्यकारी समिति गठन गरिएको छ। जिल्ला पार्टी कार्यालय, सोरेङमा आज आयोजित समन्वय बैठकमा समिति गठन गरिएको हो। बैठकमा जिल्ला अन्तर्गत चार मण्डल अध्यक्ष पनि नियुक्त गरेको छ। समन्वय बैठकमा प्रदेश अध्यक्ष डीआर थापा, विधायक दलका नेता एनके सुब्बा, विधायक केएस लेप्चा, प्रदेश उपाध्यक्ष अर्जुन राई, महासचिव भरत दुलाल, सोरेङ जिल्ला अध्यक्ष भाइचुङ राई तथा कार्यकर्ताहरू उपस्थित थिए ।प्रदेश अध्यक्ष डीआर थापाले बूथस्तरसम्म पार्टीलाई सुदृढ़ बनाउनु पर्ने र पार्टीका कार्यक्रम र नीतिहरूलाई तृणमूलस्तरसम्म पुऱ्याउनु पर्ने बताए। उनले बेरोजगारी, आपराधिक गतिविधि, वित्तीय संकट, ड्रग अब्यूज आदि जस्ता राज्यका चुनौतीहरूमाथि पनि प्रकाश पारे। उनले यी विषयहरूलाई भाजपाले मात्र सम्बोधित गर्न सक्ने दाबी गरे। विधायक दलका नेता सुब्बाले संगठनलाई दरिलो बनाउने क्रमका चुनौतीहरूबारे अवगत गराएका थिए। उनले राज्यमा सुशासन र विकास सुनिश्चित गर्न तथा राज्यका लम्बित मागहरूलाई पूरा गर्ने क्षमता केवल भाजपामा रहेको बताए।यसैगरी, उपाध्यक्ष अर्जुन राईले नवगठित कार्यकारी समितिले पालन गर्नुपर्ने अनुशासन र यसका कामकाजमाथि प्रकाश पारेका थिए। बैठकलाई महासचिव दुलाल, विधायक लेप्चा, देविका सुब्बा तथा अन्यहरूले पनि सम्बोधन गरेको जानकारी प्रेस विज्ञप्तिमा दिइएको छ।