गान्तोक: गेजिङ बर्मेक निर्वाचन क्षेत्रको नजुर बर्फोक निम्न माध्यमिक विद्यालयमा आज सम्मानसँगै अवकाशप्राप्त शिक्षकहरूलाई बिदाई कार्यक्रम आयोजना गरिएको थियो। यस विदाई कार्यक्रमका मुख्य अतिथि सिक्किम सरकारका कृषि बागवानी पशुपालन तथा श्रम विभागका मन्त्री लोक नेपाल रहेका थिए।कार्यक्रममा सिक्किम मिल्क युनियनका अध्यक्ष याम कुमार मिश्र लगायत स्थानीय नागरिकहरूको पनि उपस्थिति रहेको थियो। यस कार्यक्रम अन्तर्गत मन्त्री नेपालले पहिलो चरणमा यसै विद्यालयको टेरिसमा निर्माण गरिएको ग्रीन हाउसको उद्घाटन गरेपछि विद्यालयको पुस्तकालय लगायत अन्य स्थानको भ्रमण पनि गरे। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि मन्त्री तथा क्षेत्र विधायक नेपालले वर्तमान सरकार गठन भएदेखि यता शुरू गरिएका विभिन्न योजनाहरूमाथि प्रकाश पारे। उनले सर्वप्रथम कतिपय स्कूलहरूमा प्राचार्य विद्यालय प्रमुखहरू नरहेको र त्यसलाई पूरा गरेर अहिले सबै विद्यालयहरूमा प्राचार्य, प्राध्यापकहरू रहेको बताए। उनले धेरै वर्षदेखि एडहकमा रहेका राज्यका शिक्षक शिक्षिकाहरूलाई आठ वर्षमा रूपमा स्थायीकरण गर्ने वर्तमान सरकारले कानून बनाएको जानकारी गराए। यस अतिरिक्त एमबीबीएसको निम्ति ५० वटा निःशुल्क सिट आरक्षण गर्न सक्षम बनेको र ग्रामीण स्तरका विधार्थीहरूले यसको फाइदा उठाइरहेको उनले बताए।आर्थिक अवस्थाको कारण एमबीबीएस गर्न नसक्ने विद्यार्थीहरूले पनि आज वर्तमान सरकारमा यो अवसर पाएको उनले बताए। उनले जैविक खेतीलाई अघि बढाउन सरकारले सरकारी विद्यालयहरूमा जैविक खेती सम्वन्धि पठन-पाठन शुरूवात गरिसकेको जानकारी गराए।