सत्ता दलको कारणले गर्दा श्रमिकहरूले दु:ख पाईरहेको छ: डीके गुरूङ
दार्जीलिङ: सत्ता दलको कारणले गर्दा चिया श्रमिकहरूले बारम्बार दु:ख पाईरहेको छ भनी हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय अध्यक्ष डीके गुरूङले बताएका छन्।दार्जिलिङको माल रोडस्थित हाम्रो पार्टीको केन्द्रीय कार्यालय पी कोठीमा हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको सभा सम्पन्न भयो। उक्त सभामा हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको नयाँ शाखा प्रशाखा गठनको नेतृत्वहरूसँग परिचय आदान प्रदान साथै श्रमिकहरूको समस्याहरूमाथि विचार विमर्श गर्न आदि रहेको थियो। यसै सन्दर्भमा हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय अध्यक्ष डीके गुरूङले रम्बुक सिर्डर, पान्दाम, रागेरूङ, मामरिङ, पुबुङ, जिङ्लाम, पेशोक आदि चिया बगानहरूमा कार्यरत् चिया श्रमिकहरूले विभिन्न प्रकारको समस्याहरू झेल्न परिरहेको बताए। उनले भने, ‘रंगमुक सिडर्स, रागेरूङ, पान्दाम, आलुबारी, फुलबारी चिया बगानहरूको समस्याहरूमाथि गत केही दिन अघि मात्र विभागीय अधिकारीको कार्यालयमा बैठक भएको थियो अनि यी चिया बगानहरूमा अहिले फेरि समस्याहरू उत्पन्न भएको छ। गत केही महिना अघि पहाडको सत्ता दल पार्टी एंव श्रमिक संगठनले जीटीए मुख्यालय लालकोठीमा बैठक डाकेर श्री नारायणी कम्पनीको हातमा सुम्पिने कार्य गरेको थियो। त्यस अवधि हामी जोइण्ट फोरमको पक्षबाट यसरी गरेर हुँदैन भन्दा भन्दै उनीहरूले जबर्जस्ती गरेर काम गर्ने हुँदा समस्या शुरू भएको हो। केही महिनापछि बगानमा त्यस्तै प्रकारको समस्याहरू शुरू हुँदा श्री नारायणी कम्पनीले आफ्नो आर्थिक अवस्थाहरूलाई देखाउँदै बगान नचलाउने निर्णय लिएको छ। विभागीय अधिकारीले यस सन्दर्भमा बैठक बोलाएर चारवटा बगानहरूमध्ये दुईवटा अन्य कम्पनी अनि रहल दुईवटा बगानहरू अर्को कम्पनीको नाम दिएर त्यही मानिसहरूले आफ्नो अधीनमा ल्याए यो कसको गल्ती हो? पहाडको वर्तमान सत्ताधारी पार्टीले आफै बोक्सी आफै धामी रहेको स्पष्ट हुन्छ।’

उनले अघि भने, ‘यस्तै नेताहरूको कारणले गर्दा हाम्रो श्रमिकहरूले दु:ख पाएको हो। सत्ता पक्षको श्रमिक संगठनले श्रमिक विरोधी प्रस्तावहरूमा सम्झौता गरेको छ।यस्तै नेताहरूको कारणले पहाडको चिया श्रमिकहरूले दु:ख पाएको हो।’