कालचिनीः शनिबार कालचिनी खण्डको यूरोपियन फूटबल मैदानमा एफसी धनबाद रेसिडेन्सियल फूटबल एकाडेमीको पहल एवम् डुवर्स फूटबल एकाडेमीको आयोजनामा ब्वाइज फूटबल ट्रायल सम्पन्न भयो। उक्त फूटबल ट्रायलमा एफसी धनबाद रेसिडेन्सियल फूटबल एकाडेमीको चीफ कोच विश्वनाथ कुन्डु, तुषार कान्ति मजुमदारसहित डुवर्स फूटबल एकाडेमीको चीफ कोच कुमार लामा एवम् एकाडेमीका अध्यक्ष प्रकास लामा कालचिनीका विशिष्ट समाजसेवी पवन योल्मो र ओमदास लोहार आदिको मुख्य उपस्थिति रहेको थियो। अन्डर १५, १७, १९ र २० बर्षका केटाहरूलाई लिएर शनिबार ट्रायल म्याच सम्पन्न भएको छ भने यसबाट चयनित खेलाड़ीहरूलाई धनबाद रेसिडेन्सियल फूटबल एकाडेमीमा लगिने बताईएको छ। यस सम्बन्धमा एकाडेमीका चीफ कोच विश्वनाथ कुन्डु र तुषार कान्ति मजुमदारले यस मार्फत डुवर्सका फूटबलर केटाहरूले उचित मञ्च पाउने र यसमा डुवर्स फूटबल एकाडेमी डीएफएले सहयोगिता पुऱ्याएको जनाएका छन्।
डुवर्स फूटबल एकाडेमीको चीफ कोच कुमार लामाले डीएफएले आर्मी ब्वाइज दानापुर मार्फत पनि अब्बल फूटबलरहरूलाई क्लबहरूमा लगिएको र यो लगाई ७ पल्ट जति यो ट्रायल फूटबल शिविर सम्पन्न भएको र अझै पनि यहाँका फूटबल प्रतिभाहरूको खोजी जारी राख्ने जनाएका छन्। कार्यक्रममा उपस्थित समाजसेवी पवन योल्मो र ओमदास लोहारले चियाबारी र बनबस्तीका फूटबल प्रतिभाहरूको निम्ति तो सुनौलो मौका हो भन्दै यसको निम्ति धनबाद रेसिडेन्सियल फूटबल एकाडेमी र डुवर्स फूटबल एकाडेमीलाई धन्यवाद ज्ञापन गरेका छन्।










