नाम्ची। जिल्लापाल तथा एकलव्य आदर्श आवासीय विद्यालय (ईएमआरएस) सुन्तलेका अध्यक्ष एम. भरणी कुमारले आज सुन्तलेमा निर्माणाधीन ईएमआरएसको विद्यालय भवन र होस्टेलको निरीक्षण गरे। भ्रमण अवधि जिल्लापालसँग कल्याण अधिकारी क्योन्डिट लेप्चा, डब्ल्युआई बिनिता प्रधान, एई सिर्जना तामाङ, जेई पुष्कर छेत्री, ईएमआरएस प्रभारी डा. एके जाना तथा सम्बन्धित ठेकादार पनि उपस्थित थिए।
यो विद्यालय जनजाति विद्यार्थीहरूका लागि राष्ट्रिय शैक्षिक समाजको माध्यमद्वारा १०० प्रतिशत केन्द्रिय सहायतामा सञ्चालन भइरहेको छ। राज्यमा सामाजिक कल्याण विभागले विद्यालयको देखरेख गरिरहेको छ। विद्यालयले राज्यका विपन्न जनजाति विद्यार्थीहरूलाई कक्षा छैटौंदेखि १२औंसम्म नि:शुल्क शिक्षा, भोजन र बास तथा सबै आवश्यक सुविधाहरू उपलब्ध गराउँछ।
अधिकारिक भ्रमण सकारात्मक रह्यो। आगामी एक महिनाभित्र विद्यालय पूर्वाधारको निर्माण कार्य पूरा गरेर ईएमआरएस जिल्ला स्तरीय कमिटी, नाम्चीलाई हस्तान्तरण गरिने भएको बताइएको छ।