पोखराः कास्कीको माछापुच्छे गाउँपालिकामा भालुको आक्रमणमा परी एक वृद्ध गम्भीर घाइते भएका छन्। घाइते हुनेमा माछापुच्छ्रे गाउँपालिका वडा नं. ९ का ६१ वर्षीय गुञ्जबहादुर थापामगर छन्। बिहान करिब सवा ८ बजे खाना खाएर सोही वडाको क्रन्डू जंगलमा घाँसदाउरा गर्न जानेबेला भालुले आक्रमण गरेको वडाध्यक्ष राजेन्द्र क्षेत्रीले जानकारी दिए। घाइते थापालाई उपचारका लागि पोखरा फिस्टेल अस्पतालमा भर्ना गरिएको छ। ‘उहाँको अनुहार, गुप्तांगतिर आक्रमण गरेको चोट देखिएको छ’, वडाध्यक्ष क्षेत्रीले भने।
योसँगै क्रन्डू जंगलमा भालुको आक्रमणबाट घाइते हुनेको संख्या पछिल्लो ३ वर्षमा ३ पुगेको छ। वडाध्यक्ष क्षेत्रीका अनुसार क्रन्डू जंगलमा परम्परागत रुपमा भेडा, बाख्रा गोठालाका गोठ हुने भएकाले भालुले बढी आक्रमण गर्ने गरेको छ। ‘त्यो एक्याप क्षेत्रभित्र पर्छ। त्यहाँ वर्षैपिच्छे भालुले मानवीय क्षति पुर्याउन थालेको छ’, वडाध्यक्ष क्षेत्रीले भने, ‘त्यो क्षेत्रमा अहिले पनि बुढापाकाले परम्परागत रुपमा पशुपालन गर्ने गर्दछन्।’











