गान्तोक। भारतीय जनता पार्टी सिक्किमका प्रवक्ता डा. राजु गिरीले आज जारी एउटा प्रेस विज्ञप्तिमा भनेका छन् कि “‘आजादी का अमृत महोत्सव’ जस्तो राष्ट्रव्यापी, सर्वजनसमर्पित वृहत कार्यक्रमलाई लिएर अखिल भारतीय महिला सम्मेलनकी एक कार्यकारी सदस्या चन्द्र प्रभा पाण्डेले नेपाली भाषाप्रति गरेको व्यवहार र तिरस्कार दुर्भाग्यपूर्ण विषय हो। अखिल भारतीय स्तरको उक्त संस्थाको एउटा जिम्मेवारपूर्ण पदमा आसीन उक्त सदस्यले आजादी का अमृत महोत्सवमा हालै कालेबुङबाट प्रस्तावित एउटा सांस्कृतिक प्रस्तुतिलाई नेपाली भाषी भएको हैसियतमा “यो विदेशी भाषा हो, यसलाई कार्यक्रममा सामेल गर्नसकिँदैन” भन्दै खारेज गरेर १.५ करोड़ नेपालीभाषी भारतीय गोर्खा/नेपालीलाई कुठाराघात गरेकी छन्।”
भाजपा सिक्किमले नेपाली भाषाप्रति एउटा जिम्मेवार संस्थाबाट भएको यस प्रकारको व्यवहारको कड़ा शब्दमा निन्दा गर्दै सम्पूर्ण नेपालीभाषी भारतीयहरूसमक्ष लिखित रूपमा सार्वजनिक माफी माग्नुपर्ने माग गरेको छ। लगभग ९ दशक पुरानो एउटा वरिष्ठ संस्थाको जिम्मेवार पदमा आसीन उक्त महिलालाई भारतीय संविधानको आठौं अनुसूचीमा सामेल गरिएको मान्यताप्राप्त नेपाली भाषाबारे ज्ञान नहुनु अचम्मै लाग्दो विषय रहेको प्रवक्ता गिरीले बताएका छन्।
उनले भनेका छन्, ‘वर्ष १९९२ मा तत्कालीन सिक्किमका मुख्यमन्त्री स्व. नरबहादुर भण्डारी अनि सांसद श्रीमती दिलकुमारी भण्डारीको नेतृत्वमा सर्वभारतीय स्तरबाट भएको योगदानको फलस्वरूप नेपाली भाषाले भारतको संविधानको आठौं अनुसूचीमा मान्यता पाएको थियो। तर भाषाले राष्ट्रिय भाषाको मान्यता पाएर ३० वर्षको अवधि पूरा गरिसक्दा पनि यस्ता जातिगत तथा भाषागत लाञ्छनाले हाम्रो जातिलाई बारम्बार होच्याउने काम भइरहेको छ, यो दुःखलाग्दो विषय हो। भारत स्वतन्त्रता भएको ७५औं वर्षगाँठलाई अमृत महोत्सवको रूपमा मनाइरहेको समय पनि भारतीय नेपाली/गोर्खा समाज आज पनि यस प्रकारको लाञ्छनाहरू झेल्दै बस्नुपरिरहेको छ। यो घटनाले देशप्रति नेपाली/गोर्खा जातिको अमूल्य योगदान अनि बलिदानको पनि अपमान गरेको छ जो हाम्रो निम्ति असहनीय विषय हो।’
उनले अझ भनेका छन्, ‘अनेकतामा एकताको नारामा एकबद्ध रहेका देशका विभिन्न भाषा-भाषी, संस्कृतिहरूहरू छन् जस्तै बंगाली, उर्दू, तामिलभाषीहरू आदि जो छेवैको छिमेकी देशहरूमा पनि बोलिन्छन् अनि भारतमा पनि बोलिन्छन् त्यस्तै नेपाली भाषा भारतमा अनि नेपालमा पनि बोलिन्छ, तर केवल नेपालीभाषा र यो भाषा बोल्ने नेपाली/गोर्खा जातिले भने बारम्बार विभिन्न मञ्चहरूमा यसरी अपमानित हुँदै आएको कुनै नयाँ विषय होइन। भाजपा सिक्किम नेपाली/गोर्खा भाषी/जातिमाथि यस प्रकारको लाञ्छना लाउने सम्बन्धित व्यक्ति/संस्थाहरूविरूद्ध कड़ा कार्वाहीको माग गर्दछ, जसले आगामी दिनमा यस्ता घटनाहरू नदोहोरिउन्।’
यसका साथै अखिल भारतीय महिला सम्मेलनले यस घटनामा सामेल हुने सदस्यलाई यथाशीघ्र बर्खास्त गर्नुपर्ने, नेपालीभाषी भारतीयहरूसमक्ष लिखित माफी माग्नुपर्ने अनि सम्मेलनको कार्यक्रममा नेपाली सांस्कृतिक प्रस्तुतिलाई उच्च सम्मानका साथ सामेल गराएर यस जातिको शीर उठाउनुपर्ने पनि भाजपा सिक्किमले माग गरेको छ।