गान्तोक: गेजिङ जिल्लामा एक 90 वर्षीया वृद्ध महिलासँग भएको यौन दुष्कर्मको घटनालाई लिएर सिक्किम राज्य महिला आयोगले कडारूपमा भत्सर्ना जनाएको छ। आरोपीलाई फास्ट ट्रयाकमा मुद्दा चलाएर वृद्ध महिलालाई न्याया दिलाउनको निम्ति आयोगले पुलिसलाई सहयोग गर्ने विज्ञप्तिमा उल्लेख गरेको छ।
आयोगले पुलिसलाई जाँचको निम्ति सबै प्रकारको सहयोग प्रदान गर्ने पनि बताएको छ। यसै क्रममा आयोगले पीडित वृद्ध महिलालाई परामर्श गर्नको निम्ति सदस्यहरू पठाएको पनि जानकारी गराएको छ। यस प्रकारको घटनाबारे समाजले सम्वन्धित निकायसमक्ष रिपोर्ट दर्ता गराउनु पर्ने पनि सुझाउ दिएको छ। उल्लेखनीय छ, हिजो २० अप्रेलको दिन गेजिङ जिल्ला अन्तर्गत एक ९० वर्षीया वृद्ध महिलासँग छेङगा छिरिङ भोटिया नामक एक व्यक्तिले दुष्कर्म गरेर भागेका थिए भने पुलिसले आरोपीको खोजी गर्न टीम गठन गरेको र अहिले युद्धस्तरमा खोजी अभियान चलिरहेको पुलिसले बताएको छ। आरोपीविरूद्ध पुलिसले आइपीसीको धारा ३७६ र ४५० अन्तर्गत मुद्दा दर्ता गरेको छ।









