२१ अप्रेलः इण्डियन प्रीमियर लीग (आईपीएल) २०२३-को २९औं म्याचमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गऱ्यो। यस जीतको साथै एमएस धोनीको कप्तानीमा रहने चारपल्टको च्याम्पियन चेन्नईको टीम ६ वटा म्याचमा ४ वटा जीतको साथ ८ पोइण्ट लिएर आईपीएल टेबलको तेस्रो स्थानमा पुग्यो। यसरी ६ वटा म्याचमा केवल दुईवटा म्याच जित्ने सनराइजर्सको टीम ४ पोइण्ट लिएर नवौं स्थानमा रहेको छ। चेन्नईको एमए चिदाम्बरम स्टेडियममा शुक्रवार खेलिएको म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै सनराइजर्स हैदराबादले २० ओभरमा ७ विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो। अभिषेक शर्माले सर्वाधिक ३४ रन बनाए। यसबाहेक राहुल त्रिपाठीले २१ रन बनाए। मार्को जानसेनले अविजित १७ रनको योगदान दिए। सनराइजर्सको टप अर्डरमा सबैले असल शुरुवात गरे पनि कसैले लामो ईनिंग्स खेल्न सकेनन्। चेन्नई सुपर किंग्सका बलरहरूमा रविन्द्र जडेजाले सर्वाधिक ३ विकेट लिए।

जवाफमा चेन्नई सुपर किंग्सले १८.४ ओभरमा ३ विकेट गुमाएर १३८ रन बटुलेर म्याच जित्यो। ओपनर डेवोन कनवेले अविजित ७७ रन बनाए। न्यूजील्याण्डका यस ब्याटरले ५७ बल खेलेर १२ वटा चौका र एउटा छक्का लगाए। यसबाहेक रुतुराज गायकवाड़ले ३५ रन बनाए। सनराइजर्सका बलरहरूमा मयंक मार्कण्डेले सर्वाधिक 2 विकेट लिए। म्याचमा अभिषेक शर्मा, राहुल त्रिपाठी र मयंक अग्रवालको महत्त्वपूर्ण विकेट हासिल गर्ने जडेजालाई प्लेयर अव् द म्याच चयन गरियो।









