कीर्तिमान माथि कीर्तिमान रच्दै नेपालद्वारा ओमान पराजित

Untitled-1-copy-146

कुनै खेलहरू साँच्चै खास हुने गर्छ। जस्तै एसीसी प्रिमिअर कप अन्तर्गत नेपाल र ओमानबीचको शुक्रवारको खेल।

नेपालः कीर्तिमान माथि कीर्तिमान रच्दै नेपालले ओमानलाई ८४ रनले पराजित गर्‍यो। नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमै पहिलो पटक ३०० भन्दा बढी रन जोड्यो। ओमानका अन्तिम खेलाडी अकिव इल्यास घाइते भएर खेल्न नसकेका कारण ‘रिटायर्ड आउट’ लिएपछि उसले ९ विकेट गुमाएलगत्तै नेपाल विजेता घोषित भएको थियो। खेल रोकिँदा ओमानले २१ बल खेल्न बाँकी नै थियो। त्यसअघि हावाहुरी चल्न थालेपछि खेल बेला बेलामा खेल बिथोलिएको थियो। खेल ‘डक वर्थ लुइस’ प्रणालीमा जान्छ की भन्ने अनुमान पनि गरिएको थियो। तर त्यो स्थिति आउनु अगाडि नै खेल नेपालले जित्न सफल भयो।युवा अलराउण्डर कुशल मल्लले विस्फोटक ब्याटिङ गर्दै सबैभन्दा छिटो १०० रन बनाउने नेपाली खेलाडीको कीर्तिमान राखे भने सन्दीप लामिछानेले सर्वाधिक चाँडो १०० विकेट लिने विश्वकै पहिलो बलरको कीर्तिमान आफ्नो नाममा लेखाए। यी कीर्तिमान माझ विशेष के रह्यो भने दाबेदार ओमानलाई नेपालले लिगको महत्त्वपूर्ण खेलमा पराजित गर्‍यो।यसले नेपाललाई १० राष्ट्र सम्मिलित प्रतियोगिता अन्तर्गत समूह ‘ए’ मा तालिकाको शीर्ष स्थानमा पुर्‍याउन सक्छ। जसले नेपालको फाइनलसम्मको यात्रा पनि सहज बनाउन सक्छ। जारी एसीसी प्रिमियर कपको विजेता सेप्टेम्बरमा हुने एशिया कपमा छनोट हुनेछ। उक्त प्रतियोगितामा भारत र पाकिस्तान जस्ता टेस्ट शक्ति राष्ट्रसँग प्रतिस्पर्धा हुने तालिका छ। नेपालको यो ५० औँ ओडीआई क्रिकेट प्रतिस्पर्धा पनि हो। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१० रन बनाएको थियो । जवाफमा आएको ओमान ४६ ओभर ३ बलमा २२६ रनमा सीमित भयो। ओमानका लागि मोहम्मद नदिमले सबैभन्दा धेरै ६५ रन जोडे।

ब्याटिङ सङ्घर्ष

कुशल मल्ल कीर्तिपुर क्रिकेट मैदानमा प्रवेश गर्नु अगाडि र त्यस पछाडिको दृश्य निकै फरक बन्यो। त्यसअघि नेपालले ब्याटिङमा नराम्ररी सङ्घर्ष गरिरहेको थियो। प्रारम्भिक जोडिद्धय कुशल भुर्तेल र आसिफ शेख दुवै रनको खाता खोल्न नपाउँदै आउट भइसकेका थिए।त्यसपछि भीम सार्की र कप्तान रोहित पौडेलले निकै सङ्घर्ष गर्दै नेपालको इनिङ्स उकास्ने काम गरे। यी दुईले तेस्रो विकेटका लागि ५४ रनको साझेदारी पनि गरे। तर १८औँ ओभरको पहिलो बलमा पौडेल २३ रन बनाएर आउट भए भने त्यसको तीन ओभरपछि सार्की पनि (३३ रन) पवेलियन फर्किए। २१ ओभरको खेल चलिरहँदा चार विकेटको क्षतिमा नेपालले जम्मा ७२ रन मात्र जोड्न सकेको थियो। यस्तो अवस्थामा नेपालले ३०० भन्दा बढी रन बनाउला भनेर कसले सोचेको थियो र? तर कुशल मल्लको आक्रामक ब्याटिङ्ले कीर्तिपुरको वातावरण नै परिवर्तन भयो।

कुशलको जादु

मल्ल एक्लैले १० छक्का प्रहार गरे। अनि उनको चौकाको सङ्ख्या ९ थियो। मैदान प्रवेश गरेपछि सामना गरेको तेस्रो बलमा उनले पहिलो चौका प्रहार गरेर आफ्नो आक्रामक मुड प्रस्तुत गरेका थिए।त्यसपछि उनले लगातार ४ ओभरमा बाउन्ड्री प्रहार गरे। अर्कोतर्फबाट आरिफ शेखले उनलाई सघाई रहेका थिए।आरिफ र उनको साझेदारी पाँचौँ विकेटका लागि ७५ रनको रह्यो। त्यसपछि आएका दीपेन्द्र सिंह ऐरी (७ रन) धेरै बेर टिक्न सकेनन्। तर सोमपाल कामी र मल्लले मिलेर फेरी रनको वर्षा गरी नै रहे। मल्लले ३८.५ ओभरमा अकिवलाई छक्का प्रहार गर्दै आफ्नै शैलीमा शतक पुरा गरे। त्यसको लागि उनले ५९ बल मात्र खेले। यो नै कुशल मल्लको छिटो शतकको कीर्तिमान हो। शतक प्रहार गरेपछि उनले ब्याटको मध्य भाग समाएर त्यसको खुसीयाली मनाएका थिए भने क्रिजमा रहेका सोमपाल कामीले मैदानमा उनलाई बधाई दिए। उनी ४२ औँ ओभरमा १०८ रन बनाएर आउट भए।

सोमपालको अर्धशतक

त्यसपछि चम्किने पालो सोमपाल कामीको थियो। कामीले ४८ बलमा अविजित ६३ रन जोडे। यो उनको करिअरको दोस्रो ओडीआई अर्धशतक हो। ओमानको खेलमा टिममा फर्किएका करण केसीले पनि १५ बलमा २९ रन जोडे। सोमपाल र करण केसीले नवौँ विकेटका लागि अविजित ६१ रनको साझेदारी गरेपछि नेपालको स्कोर ३१० पुगेको थियो।

सन्दीप लामिछानेको कीर्तिमान

शुक्रवारको खेलमा नेपाली स्पीनर सन्दीप लामिछाने सबैभन्दा कम खेलमा १०० विकेट लिने विश्वका पहिलो बलरको कीर्तिमान बनाए। उनले ४२ खेल खेलेर १०० विकेटको कोशेढुङ्गा पूरा गरेका हुन्। यसअघि सो कीर्तिमान अफगानिस्तानका राशिद खानको नाममा थियो। खानले सन् २०१५ मा ४४ खेल खेलेर सो कीर्तिमान रचेका थिए। लामिछाने एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा १०० विकेट लिने नेपालको पहिलो बलर पनि बने।

२०१८ को अगस्ट १ मा नेदरल्यान्ड्स विरुद्ध लामिछानेले पहिलो विकेट लिएका थिए। त्यसयताको पाँच वर्षको अवधिमा लामिछाने नेपाली टोलीको प्रमुख ‘विकेट टेकर’ बन्दै आएका छन्। सो क्रममा उनले तीन पटक पाँच विकेट लिएका छन्। टी-२० अन्तर्राष्ट्रियमा पनि लामिछानेले ४४ खेलबाट ८५ विकेट लिइसकेका छन्। त्यस्तै लिस्ट ए मा उनको नाममा १४५ विकेट छ भने टी- २० मा उनले १९३ विकेट लिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement