गान्तोकः रातेछु खोलाबाट गान्तोक ल्याइएका सबै पाइपलाइन भत्किएपछि गान्तोकमा पिउने पानीको समस्या भएको छ। यो पाइप लाइनलाई पूर्ण मरमत गरेर गान्तोकमा पिउने पानीको पुनः आपूर्ति गराउन २४ अप्रेलसम्मको समय लाग्न सक्ने पीएचई विभागले जानकारी दिएको छ। पछिल्ला केही दिन यता गान्तोकमा पानीको समस्या हुँदै गरेको थियो भने हिजो साँझ पाइलाइन नै भत्किएपछि आपूर्ति ठप्प बनेको हो, जसलाई सुचारु गराउन समय लाग्ने विभागले जानकारी दिएको हो। गान्तोकका मानिसहरूका लागि पिउने पानीको आपूर्ति शहरदेखि १६ किलोमिटर टाडामा अवस्थित रातेछु खोलाबाट हुने गरेको छ।
रातेछुबाट ३५० एमएमका तीनवटा र १५० एमएमका ४ वटा पाइपमा ल्याएको पानी सेलेप-बुलबुले ट्रिटमेन्ट गरेपछि वितरण हुने गर्दछ। यी सबै पाइप गान्तोकदेखि लगभग साढे १४ किलोमिटर टाडा नौ माइलमा भत्किएपछि पानीको आपूर्ति ठप्प भएको पीएचई विभागका सचिव विन्देश्वरी प्रसादले जानकारी दिएका हुन्।
२० अप्रेलमा साढे पाँच बजी गान्तोक ल्याइएका पाइप भत्किएका हुन्। प्राकृतिक प्रकोपका कारण लगभग १२० मिटरको क्षेत्रमा सबै पाइप ध्वस्त बनेकाले मरमति कार्यमा समय लाग्नेछ। मरमति कार्य सञ्चालन गर्न शुक्रवार बिहानदेखि नै फिल्ड कर्मचारी लागि परेका छन्। विभागले लोकल सोर्सबाट पानी सङ्कलन गर्ने पनि काम गरिरहेको तर यसले गान्तोकको माग पूरा नहुने भएका कारण केही दिन पिउने पानीको समस्या बनिरहने सचिवले जानकारी गराएका छन्। प्राकृतिक प्रकोपका कारण पिउने पानीको समस्या उत्पन्न भएकाले यसको समाधान नभएसम्म मानिसहरूलाई धैर्य राखिदिन सचिवले आग्रह गरेका छन्।










