भीडलाई नियन्त्रण गर्न पुलिसद्वारा लाठीचार्ज र अश्रुग्यास प्रहार
उत्तर दिनाजपुर: उत्तर दिनाजपुर जिल्लाको कालियागञ्जस्थित साहेबघाटमा एक नाबालिक बालिकाको रहस्यमय मृत्युको घटनाले सनसनी फैलिएको छ। दोषीलाई कारबाहीको माग गर्दै मालगाउँको साहेबघाट इलाकाका जनताले चर्को विरोध गरे। भीड तितरबितर गर्न पुलिसले अश्रुग्यास प्रहार गर्नुका साथै लाठीचार्ज समेत गरेको थियो। धेरै आन्दोलनकारी पक्राउ परेका छन्। यस क्षेत्रकी एक बालिका गएराति रस्यमयी ढंगबाट बेपत्ता भएकी थिइन। शुक्रबार बिहान सोही क्षेत्रको एउटा पोखरीमा उनको शव फेला पर्यो। अपराधीले बालिकालाई बलात्कार गरी हत्या गरेको स्थानीयको आरोप छ। यसैबीच यस घटनामा पुलिसले जाबिर अख्तर नामका एक व्यक्तिलाई पक्राउ गरेको छ। बाँकी अपराधीको खोजी भइरहेको पुलिसले जनाएको छ। घटना कसरी भयो भन्नेबारे पुलिसले अनुसन्धान गरिरहेको छ। अर्कोतर्फ, सो घटनाको विरोधमा स्थानीयवासीले इटाहारको कालियागञ्ज प्रदेश सडक अवरुद्ध गरी विरोध प्रदर्शन गरे। आक्रोशित भीडलाई तितरबितर गर्न पुलिसले अश्रुग्यास प्रहार गर्नुका साथै लाठीचार्ज समेत गर्नुपरेको थियो। यो घटनामा धेरै सर्वसाधारण पक्राउ परेका छन्।










