सिक्किमे अस्तित्व र धारा ३७१एफको सुरक्षा केवल भाजपामा मात्र गर्नसक्छः अध्यक्ष डी. आर. थापा
गान्तोक। भारतीय जनता पार्टी, सिक्किमको मंगन जिल्लास्तरीय समन्वय सभा आज उत्तर सिक्किमको मंगननजिक चाँदे गाउँमा सम्पन्न भयो। यस अवसरमा प्रदेश अध्यक्ष डीआर थापा, उपाध्यक्ष अर्जुन राई, महामन्त्री भरत दुलाल, जिल्ला अध्यक्ष टाशी अङ्डुप लेप्चालगायत जिल्लास्तरका पदाधिकारीगण एवं कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। यस अवसरमा आज मंगन जिल्ला अध्यक्ष टाशी अङ्डुप लेप्चाको नेतृत्वमा जिल्ला पदाधिकारीहरू नियुक्त गरिएको छ जसमा महासचिव पदमा रामबहादुर लिम्बू, कोषाध्यक्ष पदमा सोनाम तोप्गे तामाङलगायत विभिन्न मोर्चा अध्यक्षगण अनि कार्यसमिति सदस्यहरूको छनौट पनि गरिएको छ।
सभालाई सम्बोधन गर्दै प्रदेश अध्यक्ष डीआर थापाले नवनियुक्त पदाधिकारीहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिए। आफ्नो सम्बोधनमा अध्यक्ष थापाले आजको सिक्किमको सामाजिक-आर्थिक परिदृश्यमा भारतीय जनता पार्टीको आवश्यकतामाथि प्रकाश पार्दै राज्यको सर्वाङ्गीण विकास, सिक्किमे अस्तित्व र धारा 371एफको पूर्ण सुरक्षा अनि थाँतीमा रहेका मागहरूलाई पुरा गर्ने क्षमता केवल भाजपामा मात्र रहेको बताए। उनले सबै पदाधिकारीहरूलाई पार्टीको नीति-सिद्धान्त साथै केन्द्रको मोदी सरकारका जनकल्याणकारी अनि विकासीय कार्यक्रमहरूलाई लिएर जनतामाझ जाने आह्वान गरे।

आज राज्यका जनताको निम्ति केन्द्रको भाजपा सरकारले निशुल्क चामलदेखि लिएर घर-घर पिउने पानी, गाउँ-गाउँसम्म पीएमजीएसवाईको सड़क, ठूला-ठूला राष्ट्रिय राजमार्ग, रोजगार तथा स्वरोजगारका अवसरहरू, गरीबहरूलाई स्वास्थ्य सुविधाका विभिन्न योजनाहरू उपलब्ध गराएको बताउँदै अहिले सिक्किम केवल केन्द्रिय योजनाहरूको भरमा चलिरहेको बताए। यसरी सबै सुविधा घर-घर पुऱ्याइदिने भाजपालाई सिक्किममा पनि अब एकपल्ट मौका दिनुपर्ने प्रदेश अध्यक्षको भनाई थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी उपाध्यक्ष अर्जुन राईले विभिन्न सांगठनिक विषय अनि जिम्मेवारीहरूबारे अवगत गराउँदै पार्टीको विचारधारामाथि उपस्थित कार्यकर्ताहरूलाई प्रकाश पारेका थिए। यस अवसरमा विभिन्न दल त्यागेर कार्यकर्ताहरू भाजपामा सामेल भएका थिए।









