गान्तोक: आज राज्यको तीनवटा ग्राम पञ्चायत वार्ड र एउटा जिल्ला पञ्चायत क्षेत्रमा भएको उपचुनाउ शान्तिपूर्वक सम्पन्न भयो। राज्य चुनाउ आयोगका आयुक्त केसी लेप्चाले दिनुभएको जानकारीअनुसार नाम्ची जिल्लाअन्तर्गत दुईवटा वार्डमा उपचुनाउ भएको थियो। प्राप्त जानकारीअनुसार श्रीपताम गाग्योङ जीपीयू अन्तर्गत लोपर गाग्योङ वार्डमा कूल ७७.०२ प्रतिशत मतदान भयो भने नामफिङ्ग जीपीयू अन्तर्गत अप्पर छलमथाङ वार्डमा ६६.९१ प्रतिशत मतदान भयो। यसरी नाम्ची जिल्लाका दुईवटा वार्डमा कूल ७२.२७ प्रतिशत मतदान भएको छ। यसरी नै पाकिम जिल्लाअन्तर्गत लिङ्के पाराखा जीपीयू-अन्तर्गत लिङ्के वार्डमा ७८ प्रतिशत मतदान भएको छ। उल्लेखनीय छ, गेजिङ जिल्लाअन्तर्ग लिङ्गचोम तिक्ज्या जीपीयू-को लोवर तिक्ज्या वार्ड र मंगन जिल्लाअन्तर्गत लिङ्गचोम तिङ्गदा जीपीयू-को गेरी वार्डमा उम्मेद्वार निर्विरोध विजयी बनेका छन्। आज भएको उपचुनाउमा राज्यको एकमात्र जिल्ला पञ्चायत क्षेत्रमा चुनाउ भएको थियो। मंगन जिल्लाको नामोक सोयम जिल्ला पञ्चायत क्षेत्रमा कूल ७८.४४ प्रतिशत मतदान भएको छ।

उल्लेखनीय छ, यस वर्ष राज्यमा स्वतन्त्र तथा राजनीतिक पार्टीमुक्त पञ्चायत चुनाउ भएको थियो भने आजको उपचुनाउ पनि स्वतन्त्र र राजनीतिक पार्टीमुक्त नै भयो। मतगणना भोली हुनेछ।









