गान्तोकः सिक्किममा आजदेखि आधुनिक भेटेनरी स्वास्थ्य सुरक्षा सेवा केन्द्र सञ्चालनमा आएको छ। गान्तोकस्थित भेटेनरी पोलिक्लिनिक परिसरमा स्थापना गरिएको आधुनिक सुविधायुक्त स्वास्थ्य सुरक्षा सेवा केन्द्रको पशुपालन विभागका मन्त्री लोकनाथ नेपालले उद्घाटन गरे।यसले सिक्किमका पशुपालकहरूलाई थप सेवा प्रदान गर्ने विश्वास राखिएको छ। नव उद्घाटित केन्द्रमा आपातकालीन भेटेनरी सुविधाका लागि कल सेन्टर, भेटेनरी प्रायोजनका लागि डिजिटल एक्स-रे लगायत अन्य आधिनुक सुविधा जडान गरिएको छ। आजदेखि शुरु गरिएको भेटेनरी कल सेन्टरको सेवाबाट ग्रामीण क्षेत्रका पशुपालकले आपातकालीन अवस्थामा विभागीय सुविधा सहज रुपमा प्राप्त गर्न सक्ने बताइएको छ।
नयाँ भेटेनरी केन्द्रको उद्घाटनपछि मन्त्री लोकनाथ नेपालले केन्द्रमा जडान गरिएका सबै नयाँ सुविधाको निरीक्षण पनि गरे। विभागका सचिव डा. पी. सेन्थिल कुमारले जानकारी दिएअनुसार, सिक्किम राज्यमा पशुपालन क्षेत्रले कुल जीएसडीपीमा १३.२ प्रतिशत योगदान दिॅंदै आएको छ। राज्य सरकारले ग्रामीण अर्थतन्त्रमा पशुपालन र कृषि क्षेत्रलाई प्राथमिकता दिएको कारण पछिल्ला केही वर्षमा यी क्षत्रमा सरकारी सुविधामा वृद्दि भएको छ। विभागले विभिन्न क्षेत्रमा किसानहरूको सुविधालाई ध्यानमा राखेर ५३ वटा पशुपालन फार्म सञ्चालन गर्दै आएको साथै पशु चिकित्सा केन्द्रमा पनि वृद्धि गरिएको सचिवले बताए। किसानहरूको सुविधालाई ध्यानमा राखेर १ अप्रेलदेखि पशु चिकित्सा सेवालाई वर्षै भरी स़ञ्चालनमा ल्याइएको र सेवा अवधि पनि राति नौ बजेसम्म विस्तार गरिएको बताए। विभागको लगातार प्रयासले सिक्किम दैशकै पहिलो रेबिज मुक्त राज्य बनिसकेको जानकारी गराउँदै अहिले राज्यमा एउटै पनि रेबिजका मामिला नरहेको उनले बताएका छन्। आफ्नो सम्बोधनमा विभागका मन्त्री लोकनाथ नेपालले पूर्व सरकारले ध्यान नदिएको कृषि तथा पशुपालन क्षेत्रलाई एसकेएम सरकारले चार वर्षको अन्तरालमा आयश्रोतको मुख्य माध्यम बनाउन सफल भएको दाबी गरे। कृषि क्षेत्रको विकासका लागि शुरु गरिएका नयाँ योजनाबारे जानकारी गराउँदै कृषि तथा पशुपालन क्षेत्रमा व्यवसाय सञ्चालन गर्न चाहनेका लागि विभिन्न योजनाको माध्यमबाट सहयोग पुऱ्याउन सरकार तयार रहेको बताए।
आजदेखि सञ्चालनमा आएको पशु स्वास्थ्य सुविधा केन्द्रले किसानलाई थप फाइदा पुग्ने बताउँदै राज्यका छवटै जिल्ला यस प्रकारको सुविधा स्थापना गर्न विभागले पहल गर्ने बताए। कृषि तथा पशुपालन क्षेत्रमा शुरु गरिएका प्रोत्साहन योजनाबाट सरकारले ३७ करोड रुपियआँको लाभ किसानहरूलाई वितरण गरिसकेको बताए। अर्कोतर्फ ऋण मार्फत विकास योजनाबाट ३ हजारभन्दा अधिक मानिसहरूले कृषि र पशुपालन क्षेत्रमा व्यवसाय शुरु गरेका साथै लगभग १८०० मानिसहरूले स्किल स्टार्टअप योजनाबाट पनि यो क्षेत्रमा काम गरिरहेको मन्त्री नेपालले जानकारी दिएका छन्। पशुपालन तथा कृषि क्षेत्रको विकासमा विभागीय अधिकारी र कर्मचारीबाट किसानहरूलाई प्रोत्साहन र सहयोग भइरहेको उल्लेख गर्दै मन्त्री नेपालले यसलाई निरन्तरता दिन विभागहरू समक्ष आग्रह गरे।
उनले आगामी एक वर्षको अन्तरालमा राज्यमा पशुधनको संख्या वृद्दि गराउनसँगै पशुपालन, कृषि र दुग्ध उत्पादनमा अझ सुधार ल्याउन काम गर्नुपर्ने आवश्यकता रहेको बताए। राज्यमा पशुपाल क्षेत्रको विकासका लागि अनुसन्धान कार्यको पनि आवश्यकता छ भन्दै मन्त्री नेपालले राज्य सरकार अधीनस्थ अनुसन्धान केन्द्र स्थापना गर्ने पहललाई अघि बडाउन उनले विभागलाई सुझाउ दिएका छन्। आजको कार्यक्रम अवधि विभागसित सम्बन्धित विभिन्न योजनाको लाभ किसानहरूलाई वितरण गरिएको थियो। कार्यक्रममा गान्तोकका मेयर, उपमेयर, नगर पार्षद्, विभागीय सचिव, अधिकारीवर्ग, कर्मचारी लगायत किसानहरूको उपस्थिति रहेको थियो।










