कालचिनीः कालचिनी पञ्चायत समिति र चुवापाड़ा ग्राम पञ्चायतको संयुक्त पहलमा र अहेड इनिसिएटिभको सहयोगमा चुवापाड़ा ग्राम पञ्चायतको हाटखोला संसदका केटा केटीहरूलाई समेटेर आफ्टर स्कूलको औपचारिक उद्घाटन चुवापाड़ा ग्राम पञ्चायतका प्रधान भगवती उराँवको बाहुलीबाट गरियो। यो एउटा निःशुल्क विद्यालयको पहल रहेको आयोजक सदस्यहरूले जनाएका छन्।
उक्त अवसरमा कालचिनी पञ्चायत समितिको शिक्षा कर्माध्याक्ष प्रेम लामा लगायत स्थानीय पञ्चायत सदस्य कुणाल लामा र पञ्चायत समिति सदस्य रामबाबु साहको उपस्थिति रहेको थियो। आफ्टर स्कूलको माध्यमबाट १७ जना छात्राले पढाइसँगै सिलाई प्रशिक्षण, १६ जना केटीहरूलाई एम्ब्रोइडेरी, एवम् २२ जनालाई फुटबल प्रशिक्षण दिईने अहेड इनिसिएटिभको पक्षबाट मनिक सिंहले जनाएका छन्।
आफ्टर स्कूलमा केटा–केटीहरूलाई पढाइसँगै विभिन्न काममा दक्ष बनाउने उद्देश्य रहेको र पढाइ सकेपछि जागिरको पर्खाइमा बस्नुको सट्टा आफूले कमाइको केही उपाय अपनाउन सकून् भन्ने उद्देश्यले यसको पहल गरिएको आयोजक कमिटीको पक्षबाट शिक्षा कर्माध्याक्ष प्रेम लामा र अहेड इनिसिएटिभको पक्षबाट मनिक सिंहले थप जनाएका छन्।










