नयाँ दिल्ली: चीनको घट्दो जनसङ्ख्याले विश्वलाई नयाँ खतराको संकेत गरिरहेको छ। धेरैले सोचिरहेका होलान्, कुनै देशको जनसङ्ख्या घट्नु वा बढ्नु कसरी विश्वका लागि समस्याको कारण बन्न सक्छ र? तर यो सत्य हो र आउँदो दिनमा चीनको घट्दो जनसङ्ख्याको प्रभाव विश्वभर देखिनेछ। न्यूयोर्क टाइम्समा प्रकाशित एउटा लेखले यस खतराको बारेमा कुरा गरेको छ। अहिले भारत विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश बनेको छ। चीनमा लगातार घट्दै गएको जनसङ्ख्याले यसको घरेलु अर्थतन्त्रलाई मात्र नभई सम्पूर्ण विश्वलाई असर गर्नेछ। संसारभरका अर्थशास्त्री र विज्ञहरू यसबारे किन चिन्तित छन् भन्ने बुझौं।
संकुचित कार्यबलले विश्व अर्थतन्त्रको लागि ब्रेकको रूपमा काम गर्नसक्छ। वर्षौंदेखि, चीनको ठूलो काम गर्ने उमेरको जनसङ्ख्या विश्वव्यापी अर्थतन्त्रको इन्जिन बनेको छ। त्यहाँका कारखानाका कामदारहरूले थोरै पारिश्रमिकमा सामानहरू उत्पादन गर्दै आएका छन् जुन विश्वभर निर्यात गरिन्छ। उच्च शिक्षित जनशक्तिको वृद्धि र घट्दो युवा जनसङ्ख्याका कारण आउँदो वर्षहरूमा चीनमा कारखानामा कामदारको अभाव हुनेछ। जसका कारण चीन बाहिरका सामानको मूल्य तीव्र रुपमा बढ्न सक्छ। मुख्यतया चीनबाट आयात हुने सामानमा निर्भर अमेरिका जस्ता देशहरूमा मुद्रास्फीति अत्याधिक रूपमा बढ्न सक्छ। चीनमा बढ्दो श्रम लागतका कारण धेरै कम्पनीले त्यहाँबाट आफ्नो उत्पादन इकाई सार्न थालेका छन्। कम्पनीहरूले भियतनाम र मेक्सिको जस्ता सस्तो श्रम भएका देशहरूमा आफ्नो निर्माण कार्यहरू सार्दैछन्।
घट्दो जनसङ्ख्याका कारण चिनियाँ उपभोक्ताको खर्च पनि घट्नेछ। जसका कारण चीनमा आफ्नो उत्पादनको बिक्रीमा निर्भर रहेका एप्पलका स्मार्टफोनदेखि नाइकी स्नीकरजस्ता ठूला विश्वव्यापी ब्राण्डहरू नराम्ररी प्रभावित हुनेछन्। चीनको प्रमुख आवास बजारको तथ्याङ्क पनि राम्रो छैन। चीनले श्रमशक्ति बढाउने अध्यागमन नियमलाई खुकुलो बनाउन पनि कुनै इच्छा देखाएको छैन। कामदारको अभावलाई पूर्ति गर्न चीनले कम सीपयुक्त उत्पादनलाई एसियाका अन्य देशहरूमा आउटसोर्स गर्दैछ। यसका अलावा कारखानामा अटोमेसन थप गर्नुपर्ने उसको जोड छ। कृत्रिम बुद्धिमत्ता र प्रविधि प्रयोग गरिरहेको छ।










