२० अप्रेलः इण्टर मिलानले रोमाञ्चक जीत हासिल गरी यूएफा च्याम्पियन्स लीग फूटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनायो। बुधवार राति इण्टर मिलान र बेनफिकाबीच खेलिएको क्वार्टर फाइनल राउण्डको दोस्रो लेगको म्याच ३-३-ले ड्र रह्यो तर पहिलो लेगमा २-०-ले जीत हासिल गरेको हुनाले समग्रमा ५-३-ले विजयी भएर इटलीको क्लब सेमिफाइनलमा पुग्यो। प्रतियोगिताको सेमिफाइनलमा इण्टर मिलानले सेरि ए-को प्रतिद्वन्द्वी एसी मिलानको चुनौती स्वीकार्नेछ। यसरी नै अन्य एउटा सेमिफाइनलमा म्यानचेष्टर सिटी र रियल म्याड्रिडबीच भिड़न्त हुनेछ। आफ्नो होम ग्राउण्ड सान सिरोमा इण्टरले शुरुदेखि नै दबाउको सामना गर्नु पऱ्यो। पोर्तुगलको टीमले ६० प्रतिशत पोजेशनको साथ खेल्दै लगातार आक्रमण गऱ्यो तर गोल छिराउने मामिलामा चाहिँ होम टीम अघि रह्यो। निकोलो बारेल्लाले १४औं मिनटमा इण्टर मिलानलाई बढ़त दिलाए।

त्यसपछि बेनफिकाले पनि गोल गर्न अधिक समय लिएन अनि फ्रेडरिक अर्सनेसले ३८औं मिनटमा स्कोर १-१-को बराबरीमा पुऱ्याए। त्यसपछि इण्टरले दोस्रो हाफमा लगातार दुई गोल गऱ्यो। स्टार स्ट्राईकर लौटारो मार्टिनेजले ६५औं र जोआक्विन कोरेआले ७८औं मिनटमा गोल गरी स्कोर होम टीमको पक्षमा ३-१ पुऱ्याए तर बेनफिकाले पनि हरेस खाएन अनि अन्तिम समयमा २ गोल गऱ्यो। एण्टोनिओ सिल्वाले ८६औं र पेटार मूसाले स्टपेज टाइममा गोल गरी स्कोर ३-३-को बराबरीमा पुऱ्याए पनि इण्टरलाई सेमिफाइनलमा पुग्नदेखि रोक्न सकेन।









