२० अप्रेलः म्यानचेष्टर सिटीले आशानुरुप प्रदर्शन गर्दै यूएफा च्याम्पियन्स लीग फूटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनायो। प्रतियोगिताको क्वार्टर फाइनल राउण्डअन्तर्गत म्यानचेष्टर सिटी र बायर्न म्यूनिखबीच बुधवार राति खेलिएको दोस्रो लेगको म्याच १-१-ले ड्र रह्यो तर यसअघि पहिलो लेगमा ३-०-ले जीत हासिल गरेको हुनाले समग्रमा ४-१-ले विजयी भएर प्रीमियर लीगको अग्रणी क्लब सेमिफाइनलमा पुग्यो। पहिलो लेगमा ठूलो अन्तरले पराजित भएको हुनाले थोमस टुचेलको टीमले आफ्नो होम ग्राउण्ड एलिएञ्ज एरेनामा ५८ प्रतिशत पोजेशनको साथ खेल्दै सिटीमाथि दबाउ सृष्टि गर्ने प्रयास गऱ्यो। म्यानचेष्टर सिटीले पनि आफ्नो लयलाई कायम राख्दै चाँड़ै गोलको मौका बनायो। बायर्नका खेलाड़ी डेयोट उपामेकानोले बक्सभित्र ह्याण्डबल गर्दा सिटीलाई पेनल्टी प्राप्त भयो तर स्टार स्ट्राईकर एर्लिंग हालाण्डले मौकाको फाइदा उठाउन सकेनन्।

म्याचको ३७औं मिनटमा हालाण्डले स्पट किकलाई नेटमा हाल्न सकेनन् अनि उनको शट् पोस्ट माथिबाट उड़ेर गयो। दोस्रो हाफको खेलमा चाहिँ पेप ग्वार्डियोलाको मार्गदर्शनमा रहने सिटीले बढ़त हासिल गर्न अधिक समय लिएन। अनुभवी मीडफिल्डर केविन डे ब्रूयनेको एसिस्टमा हालाण्डले गोल गरी सिटीलाई १-०-को बढ़त दिलाए। समग्रमा ४ गोलले पछाड़िएपछि पनि बायर्न म्यूनिखले कोशिश जारी राख्यो। यसै क्रममा भीएआर-को सहायताले बायर्नलाई पेनल्टी प्राप्त भयो। मीडफिल्डर जोशुआ किमिचले ८३औं मिनटमा पेनल्टीबाट गोल गरे पनि बायर्नलाई प्रतियोगिताबाट बाहिर हुनदेखि बचाउन सकेनन्।










