भाजपा सिक्किमद्वारा नाबालिक हत्याकाण्डका आरोपितलाई फाँसीको सजाय दिनुपर्ने माग

7544d199-34d4-4bf9-ba05-78ffc5dbec8a

गान्तोक: केही दिन अघि पाङथाङनजिकको जंगलमा नाबालिगमाथि दुष्कर्मपछि निर्मम हत्या गरिएको जघन्य अपराधको घटनाले अहिले सिक्किम राज्य अनि सिक्किमे समाज स्तब्ध अनि आक्रोषित बनेको छ। घटनाको उजागरपछि पुलिस प्रशासनले यसमाथि सक्रिय रूपमा कार्वाही अघि बढ़ाउँदै आरोपित यहाँ ट्याक्सी चालकको रूपमा कार्यरत बिहार निवासी प्रितम शर्मालाई पक्राउ गरेको छ।

घटनालाई लिएर सिक्किमे जनतामाझ व्याप्त आक्रोषलाई ध्यानमा राख्दै प्रशासनले उक्त अपराधीविरुद्ध न्यायिक प्रक्रियालाई तीव्र रूपमा अघि बढ़ाएर फाँसीको सजाय दिनुपर्ने अनि पीड़ित पक्षलाई न्याय दिनुपर्ने भारतीय जनता पार्टी, सिक्किम माग गरेको छ। यस्तो राक्षसी प्रवृत्तिको व्यक्तिलाई फाँसी भन्दा कम सजाय सिक्किमे समाजले स्वीकार्ने छैन भनी प्रेस विज्ञप्तिमा जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘राज्यमा महिलाहरूविरुद्ध बढ्दो अपराध सबैको निम्ति भयानक चिन्ताको विषय बनेको छ दिनदिनै हाम्रा छोरी चेलीहरू हराउने गरेका घटनाहरू, कतिपयलाई विभिन्न प्रलोभन देखाएर राज्य बाहिर तस्करी गरिरहेका घटनाहरू पनि अधि आइरहेका छन् यस्ता अधिकतम घटनाहरूलाई नियन्त्रण गर्न राज्यको प्रशासन विफल भइरहेको छ। भाजपा सिक्किम राज्य प्रशासनलाई प्रभावकारी कदम उठाउने अनि नागरिक समाजलाई पनि यस्ता विषयमा सतर्क र सजग रहिदिने आग्रह गर्दछ।’

अर्कोतिर, राज्यमा अनियन्त्रित अनुप्रवेश अनि दिन प्रतिदिन बढ्दो जघन्य अपराधका घटनाले पुनः एकपल्ट राज्यमा इनर लाइन पर्मिट (आईएलपी) को आवश्यकतालाई औंल्याएको पनि प्रदेश भाजपाले बताएको छ। भारतीय जनता पार्टीले शुरूदेखि नै राज्यमा इनर लाइन पर्मिटको मागलाई सडकदेखि सदनसम्म उठान गर्दै आएको छ भने अब पनि राज्यमा आईएलपी लागू गर्न विलम्ब गरियो भने सिक्किमको भविष्य दिनप्रतिदिन विकराल बन्दै जाने कुरामा कुनै शंका छैन भनी बताएको छ।

विज्ञप्तिमा अझ भनिएको छ, दिन प्रतिदिन बढ्दो आपराधिक घटनाहरूमा यस्ता अनुप्रवेशकारीहरूको संलग्नताले शान्त राज्यको रूपमा जानिने गरेको सिक्किमको अनुहारमा अपराधको मोसो दल्ने काम गरिरहेको छ। यसर्थ, राज्य सरकारले आईएलपीको निम्ति चाँडोभन्दा चाँड़ो पहल गरेर सिक्किमलाई यस्ता अपराधीहरूबाट बचाउन प्रभावकारी कदम उठाउन जरूरी छ। अब सिक्किममा आईएलपी सिक्किमसँगै देशको सुरक्षाको निम्ति पनि महत्वपूर्ण बन्दै गएको छ। यसकारण यस दिशामा सरकारले निर्णायक कदम चाल्नुपर्ने भाजपा सिक्किम माग गर्दछ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement