गान्तोक: आजादीको अमृत महोत्सव अन्तर्गत हार्ट फूलनेश मेडिटेशन सेण्टर गान्तोकले संस्कृति मन्त्रालयको सहयोगमा इक्फाई विश्वविद्यालयमा तीन दिवसीय योग महोत्सव आयोजन गयो। कविता तेलाङको अगुवाईमा उनको टोलीको देखरेखमा १७ देखि १९ अप्रेलसम्म आयोजित यस महोत्सवमा विश्वविद्यालयका कर्मचारीहरू र विद्यार्थीहरू सहभागी बने।मानसिक स्वास्थ्यमाथि विशेष ध्यान केन्द्रित गरेर आयोजित हार्ट फूलनेश योग र ध्यानद्वारा प्रतिभागीहरूले आन्तरिक शान्ति, खुशी र समग्र कल्याण प्राप्त गरुन् भन्ने लक्ष्य लिइएको थियो। श्रीमती तेलाङले प्रतिभागीहरूलाई ध्यानको निम्ति आवश्यक विश्राम र सफाईको तरिका सिकाएकी थिइन्। इक्फाई विश्वविद्यालयका कूलपति डा. जगन्नाथ पटनायकले सत्र आयोजनको निम्ति प्रशिक्षकहरूलाई धन्यवाद दिए। उनले यो अभ्यासले तनाउ कम गर्न मद्दत मिल्ने, रोग प्रतिरक्षा क्षमता बढ़ाउने र समग्र स्वास्थ्य नै सुधार भएर जाने बताए। प्रशिक्षकहरूलाई विश्वविद्यालयको तर्फबाट स्मृति चिन्ह प्रदान गरि सम्मान जनाइएको जानकारी पीआरओ स्मृति छेत्रीले विज्ञप्तिमा दिएकी छिन्।










