गान्तोकः राज्यका विभिन्न ठाउॅंमा भोलि २० अप्रेलका दिन सम्पन्न हुने पञ्चायत उप-चुनाउको निम्ति आज ईभीएम र चुनाउ सामग्रीहरू हस्तान्तरण गर्ने कार्य सम्पन्न गरियो। सम्बन्धित मतदान केन्द्रका चुनाउ अधिकारीहरू ईभीएम र चुनाउ सामग्रीहरू लिएर आ-आफ्नो मतदान केन्द्र प्रस्थान भएका छन्। यसै क्रममा नाम्ची जिल्ला अन्तर्गत दुईवटा मतदान केन्द्रको निम्ति चुनाउ सामग्री हस्तान्तरण गर्ने कार्य जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न गरियो। जिल्लापाल एम. भारणी कुमार, पर्यवेक्षक कर्मा डोमा यूत्सो, चुनाउ विभागकी उप-सचिव भूमिका छेत्रीको उपस्थितिमा सो कार्य सम्पन्न गरियो।
मतदान अधिकारीहरूलाई मतदान केन्द्रमा प्रस्थान गराउन अघि पुनः एकपल्ट ईभीएमको जाँच गरिएको थियो। भोलि २० अप्रेल बिहान सात बजी सम्बन्धित मतदान केन्द्रहरूमा मक-पोल गरिने छन्। बिहान ८ बजीदेखि मतदान शुरू हुनेछ र बेलुकी ५ बजीसम्म मतदान जारी रहनेछ। मतगणना २१ अप्रेल बिहान ८ बजीदेखि शुरू हुनेछ। नाम्चीको लोवर ग्याङयोङ पञ्चायत वार्ड र अप्पर छलमथाङ वार्डका उप-चुनाउ प्रस्तावित रहेको छ। लोवर ग्याङयोङमा ६१२ मतदाता र अप्पर छलमथाङमा ५५८ मतदाता छन्।










