काठमाडौंः नेपालका राष्ट्रपति रामचन्द्र पौडेलको पेटमा समस्या बढेपछि उपचारका लागि एयर एम्बुलेन्समार्फत् भारत लगिएको छ। उनलाई बुधवार विहान नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टीट्यूट अफ् मेडिकल साइन्स (एम्स) लगिएको हो।पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले उपचारका लागि एयर एम्बुलेन्समार्फत् नयाँ दिल्ली लगिएको जानकारी दिए। राष्ट्रपतिको साथमा चिकित्सक टोली पनि गएको छ।
राष्ट्रपतिको नेपालमा उपचारका क्रममा पेटमा संक्रमण भेटिएको थियो। उनलाई एन्टिबायटिक चलाइएको उपचारमा संलग्न चिकित्सकले बताए। छातिमा पानी जमेको निकालिएको तर समस्या बल्झिएपछि नयाँ दिल्ली लगिएको जनाइएको छ। पौडेल मार्च ९ मा नेपालको तेस्रो राष्ट्रपति निर्वाचित भएका हुन्। राष्ट्रपति बन्नुअघि नेपाली काँग्रेसका वरिष्ठ नेता थिए।








