मंगनः पन्टोकस्थित जिल्ला भवनमा स्थापित स्ट्रङ रूम बुधवार बिहान लगभग आठ बजी खोलियो। यस अवसरमा जिल्लापाल एवं चुनाउ अधिकारी हेमकुमार छेत्री तथा अन्य सम्बनिधत अधिकारीहरू उपस्थित थिए। उत्तर सिक्किमको मंगन जिल्ला अन्तर्गत नामोक स्वयेम जिल्ला पञ्चायतमा उप-चुनाउ प्रस्तावित रहेको छ। जिल्ला भवनस्थित कण्ट्रोल रूममा मतदान अधिकारीहरूलाई ईभीएमसहित मतदान सामग्रीहरू हस्तान्तरण गरियो।
प्रस्तावित पञ्चायत उप-चुनाउको निम्ति स्थापित पॉंचवटा मतदान केन्द्रका लागि पॉंचवटा ईभीएम र अन्य मतदान सामग्रीहरूका साथमा कूल २५ पीठासीन अधिकारी र मतदान अधिकारीहरू पठाइएको छ। जिल्लापाल एवं चुनाउ अधिकारीहरूको देखरेखमा सो कार्य सम्पन्न गरिएको थियो। उल्लेखनीय छ, राज्यका विभिन्न जिल्ला पञ्चायत र वार्ड पञ्चायतहरूमा भोलि उप-चुनाउ भइरहेको छ। बिहान ८ बजी मतदान शुरू हुनेछ र ५ बजी समाप्त हुनेछ।










