जलपाइगढी: चितुवा फेरि एकपटक आवासीय क्षेत्रमा प्रवेश गरेको छ। एक्कासी चियाबगान मजदुरमाथि चितुवाले आक्रमण गऱ्यो। चितुवाले उक्त मजदुरको कान चिथोरेको छ। गम्भीर रुपमा घाइते भएका ती मजदूरको जलपाइगढी मेडिकल कलेज अस्पतालमा उपचार भइरहेको छ। घटनाले जलपाइगढीमा सनसनी मच्चाएको छ। अहिले त्यस क्षेत्रमा चितुवाको त्रास फैलिएको छ। घटना जलपाइगढी जिल्लाको सदर ब्लक अन्तर्गत पाटकाटा क्षेत्रमा लेबु डांगा क्षेत्रको हो। श्रोतका अनुसार, चियाबारीमा काम गर्न आएका एक चिया मजदुरलाई आज बिहान एक्कासी चितुवाले आक्रमण गऱ्यो। गम्भीर रुपमा घाइते भएका ती मजदूरलाई तत्काल जलपाइगढी मेडिकल कलेज अस्पताल लगियो। घटनाको जानकारी तत्काल वन विभाग र स्थानीय पुलिस चौकीलाई दिइएको थियो। घटनापछि चितुवा हेर्न स्थानीयको भीड लागेको थियो। यसअघि यस क्षेत्रमा यसरी चितुवा देखा नपरेको स्थानीयले बताएका छन्। अचानक भएको चितुवाको आक्रमणबाट उनीहरू त्रसित छन्।
यसैबीच स्थानीय पुलिस र बेलाकोवा रेन्जका वन कर्मचारीहरू घटनास्थल पुगेका थिए। वन अधिकारी आएर क्षेत्रको निरीक्षण गरेका छन् र खोर थापने प्रबन्ध मिलाइएको छ। घाइते भएका ती मजदूरको नाम गोपाल दास(३५) रहेको स्थानीयवासीले बताए। तिनी लामो समयदेखि यसै चियाबगानमा काम गर्दै आएको बारे चियाबगान प्रबन्धक अशोक चक्रवर्तीले बताए। उनको भनाइमा,सधै झै आज बिहान पनि गोपाल दास काम गर्न बगान आएका थिए। उनी बगानभित्र काम गर्न जाँदा एक्कासी उनलाई चितुवाले आक्रमण गऱ्यो।