१९ अप्रेलः स्पेनिश क्लब रियल म्याड्रिडले चेल्सीलाई पराजित गरी सजिलैसँग यूएफा च्याम्पियन्स लीग फूटबलको सेमिफाइनलमा स्थान पक्का गऱ्यो। मंगलवार अबेर राति खेलिएको क्वार्टर फाइनलको दोस्रो लेगमा रियल म्याड्रिडले प्रीमियर लीग क्लबलाई २-०-ले पराजित गऱ्यो। यसअघि आफ्नो होम ग्राउण्डमा पनि २-०-ले जीत हासिल गरेको हुनाले रियल म्याड्रिड समग्रमा ४-०-ले विजयी भयो। फर्म र इतिहास दुवै आफ्नो पक्षमा नरहे पनि फ्रांक लाम्पार्डको मार्गदर्शनमा रहने चेल्सीले आफ्नो होम ग्राउण्डमा ५५ प्रतिशत पोजेशनको साथ खेल्दै शुरुवात चाहिँ असल गरेको थियो तर टीमले पहिलो हाफमा गोल गर्ने दुईवटा असल मौका गुमायो। यसबीच रोड्रिगोले ५८औं मिनटमा रियल म्याड्रिडको निम्ति पहिलो गोल गरी स्टेमफोर्ड ब्रीजमा उपस्थित चेल्सीका समर्थकहरूलाई स्तब्ध पारे। ब्राजीलका यस फरवर्डले ८०औं मिनटमा अझ एक गोल गरी रियललाई सेमिफाइनलमा पुऱ्याउनको साथै चेल्सीको बिदाई सुनिश्चित गरे। साल २०२१-को च्याम्पियन चेल्सीले लाम्पार्डले अन्तरिम प्रशिक्षकको रूपमा जिम्मेवारी लिएपछि आफ्नो चारैवटा म्याच हारेको छ। ग्राहम पोटरलाई पदबाट हटाइएपछि चेल्सीले लाम्पार्डलाई अन्तरिम प्रशिक्षक नियुक्त गरेको थियो।