१८ अप्रेलः इण्डियन प्रीमियर लीग (आईपीएल) २०२३-मा खराब शुरुवातपछि असाधारण पुनरागमन गर्दै पाँचपल्टको च्याम्पियन मुम्बई इण्डियन्सले लगातार तेस्रो जीत हासिल गऱ्यो। मंगलवार खेलिएको म्याचमा मुम्बई इण्डियन्सले सनराइजर्स हैदराबादलाई १४ रनले पराजित गऱ्यो। सनराइजर्सको होम ग्राउण्डमा टस हारेर पहिला ब्याटिंग गर्दै मुम्बई इण्डियन्सले २० ओभरमा ५ विकेट गुमाएर १९२ रन बनायो। अष्ट्रेलियाई अलराउण्डर क्यामरन ग्रीनले अविजित ६४ रन बनाए। उनले ४० बल खेलेर ६ वटा चौका र २ वटा छक्का लगाए। यसबाहेक तिलक वर्माले ४ वटा छक्का र २ वटा चौकाको साथ ३७ रनको योगदान दिए। इशान किशनले ३८ र कप्तान रोहित शर्माले २८ रन बनाए। सनराइजर्सका बलरहरूमा मार्को जानसेनले सर्वाधिक २ विकेट लिए।

जवाफमा सनराइजर्स हैदराबादको टीम १९.५ ओभरमा १७८ रन बनाएर अलआउट भयो। ओपनर मयंक अग्रवालले सर्वाधिक ४८ रन बनाए। यसबाहेक हेनरिच क्लासेनले ३६ (१६ बल, २ वटा छक्का र ४ वटा चौका) र कप्तान एडेन मार्करमले २२ रन बनाए। मुम्बई इण्डियन्सका बलरहरूमा जेसन बेहरनडर्फ, रिली मेरेडिथ र पीयुष चावलाले २-२ विकेट हासिल गरे। यसको साथमा अर्जुन तेन्दुलकरले ईनिंग्सको अन्तिम ओभरमा भुवनेश्वर कुमारलाई आउट गरी आफ्नो पहिलो आईपीएल विकेट हासिल गरे।










